काठमाडौँ — नेकपा स्थायी समितिकको बैठक अध्यक्षद्धयको प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गरेको छ । बैठकले पार्टीको एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
महाधिवेशनको तयारीका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ । यसैगरी बैठकले प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी कामको नेतृत्व गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय पनि बैठकले गरेको छ । सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो । नेकपा बैठकले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।
भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको बैठकको निष्कर्ष छ । नेताहरुका अनुसार सरकारलाई यो विषय अझ प्रभावकारी ढंगले अघि बढाउने सुझाव दिईएको छ ।
प्रवक्ता श्रेष्ठले सरकारले कोभिड–१९ का बारेमा अहिलेसम्म यसको रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा लिएका नीति, योजना र कार्यक्रमहरुलाई सकारात्मक रुपमा लिएको बताए । बैठकको प्रारम्भमै बोलेका अध्यक्ष ओलीले देशी तथा विदेशी शक्तिहरु र प्रतिक्रियावादी शक्तिहरुको पार्टीलाई कमजोर बनाएर र तोडफोड गर्ने चाहना असफल भएको बताएका थिए । बैठकमा दुबै जना अध्यक्षले आफ्नो धारणा राखेका थिए ।