काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूूर्य थापाले नेकपा स्थायी समितिको बैठकबाट पार्टी कचिंगलमुक्त हुने विस्वास व्यक्त गरेका छन् । उनले पार्टीभित्र बढेको बिवाद र अन्तरसंघर्ष दुई अध्यक्षको समझदारीमा फर्केको उल्लेख गरेका छन् ।
“फागुन यता विभिन्न रूपमा देखा परेको दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुरूप पुनः दुई अध्यक्षको समझदारीमा फर्केको छ, सामाजिक संजालमा उनले स्टाटस लेख्दै भनेका छन्, खासमा एकताको पहलकर्ता र निर्णयकर्ता दुबै उहँहरू हो र एकता जोगाउने समझदारी पनि दुई जना अध्यक्षहरूकै हो ।”
सरकारको प्रभावकारी संचालन र पार्टीको एकता अनि गतिशीलता पनि त्यसकै आधारमा निश्चित हुने उनको भनाई छ । ६ सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनको कार्यान्वयनमा अध्यक्षद्वयले सहमतिमा बनाएको कार्ययोजना प्रस्तावको एकताबद्ध कार्यान्वयन नै यसको आधारशीला बनेको सल्लाहाकार थापाले बताए ।
“स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ, उनले उल्लेख गरेका छन् । नेकपाको स्थायी समितिको बैठक शुक्रवारबाट सुरु हुँदैछ ।