चरिकोट – दोलखामा जारी निषेधाज्ञा भोली (शुक्रवार) देखि आन्तरिक रुपमा खुलाईने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईपुर्वक लागु गर्दै लकडाउन खुल्ला गर्ने तयारी भएको हो ।
जिल्ला संकट व्यवस्थापन समितिले निजी तथा सार्वजानिक यातायात, बजार, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सुचारु गरेर लकडाउन खुकुलो बनाउने विषयमा जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिसकेको छ ।
उक्त निर्णयलाई शुक्रवारनै जिल्ला सुरक्षा समितिको बैठकले अनुमोदन गरेर निर्णय सार्वजानिक गर्दैछ । जुनसुकै प्रकारका भेला, सभा, भिडभाड गर्न नपाउने, जिल्लाका नाकामा कडाई गर्ने र स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण रुपमा पालना गर्ने शर्तसहित लकडाउन खुलाउन लागिएको जिल्ला संकट व्यवस्थापन समिति स्रोतले जनाएको छ ।
जसअनुसार सार्वजानिक यातायात स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै ५० प्रतिशत यात्रु राखेर संचालन गर्न दिईनेछ । पसलहरु विहानदेखि साँझ ६ बजेसम्म, होटेल बेलुका ७ बजेसम्म संचालन गर्न दिईनेछ ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जिल्लामा कोरोनाको घट्दो प्रभाव र बढ्दो मानविय संकटलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने निष्कर्षमा जिल्ला संकटन व्यवस्थापन समिति पुगेको बताए ।
विकास निर्माण जलविद्युत आयोजना लगायत उद्योग कलकारखाना, निर्माण समाग्रीहरुको ढुवानीपनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संचालन गर्न दिईने जनाईएको छ ।
सदरमुकाम चरिकोटमा पछिल्ला पटक थप ४ जनामा कोरोना संक्रमण देखिएपछि भिमेश्वर नगरपालिकामा निषेधाज्ञा नै जारी गरिएको थियो । ती ४ जनाको कन्ट्याक्ट टेसिङका अधारमा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकाहरुको रिपोर्ट नेगेटिभ आएको छ ।