काठमाडौं : प्रणय दिवसको अवसर पारेर धेरैले नयाँ गीत रिलिज गरे। यसै क्रममा गायक किरण अधिकारी र गायिका सञ्जीवनीको स्वरमा ‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतमा ‘गलबन्दी च्यातियो’ गीतको चर्चित मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन्। शिखर सन्तोषको संगीत रहेको गीतको शब्द सञ्जय बरालको छ। शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियो युवराज न्यौपानेले छायांकन गरेका हुन्।
‘नीरफूल’को बदनामी
यसैगरी प्रणय उत्सवकै अवसरमा चलचित्र ‘नीरफूल’को ‘तिमी बदनामी’ बोलको नयाँ गीत आएको छ। गीतको भिडियो हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो।
गीतमा कुनै एक डान्स बारमा अभिनेत्री रेखा थापाले गीत गाएको दृश्य समेटिएको छ। नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी हुन्। दुर्गा खरेलको बोल रहेको गीतमा संगीत अर्जुन पोखरेल तथा शब्द यसै चलचित्रका निर्देशक फूलमान वलको रहेको छ।
नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी सोनाम डोमा हुन्। सचिन घिमिरेको पटकथा, प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन्। चलचित्र नीरफूल आगामी फागुन ३० मा रिलिज हुँदैछ।
ए मेरी पूजा
यता अभिनेत्री आश्मा गिरीले भ्यालेन्टाइन डेको अवसरमा आफू निर्देशित ‘ए मेरी पूजा’ बोलको गीतको भिडियो ल्याएकी छन्। युट्युब च्यानल नेफोली क्रिएसन्सले म्युजिक भिडियो निर्माण गरेको हो।
भिडियो सार्वजनिक गरेको उपलक्ष्यमा आश्माले शुक्रबार नेफोली क्रिएसन्सको टिमसहित सिफलस्थित बाल संरक्षण गृहमा आ िश्रत बालबालिकासँग भ्यालेन्टाइन्स डे मनाइन्। असहाय बालबालिकालाई सहयोग गर्न आ श्रम पुगेको उनले बताइन्।
कौशलराज खड्काको स्वर र संगीतमा रहेको ‘ए मेरी पूजा’ विशाल मल्लले लेखेका हुन्। भिडियोमा हिमांशु कार्की, आशिका श्रेष्ठ र नेहा लिम्बू फिचर्ड छन्। नायिका आश्मा ‘ड्रिमगर्ल’पछि मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको ‘सँगसँगै’ फिल्ममा अनुबन्धित छिन्।