चरिकोट — दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधवारबाट कार्यभार सम्हालेका छन् । यसअघिका प्रजिअ भिमकान्त शर्मा गृह मन्त्रालयमा सरुवा भएपछि शिवाकोटीले दोलखाको नयाँ प्रजिअका रुपमा जिम्मेवारी पाएका थिए । दोलखामा सह सचिव तहबाट प्रजिअ सम्हाल्ने उनी पहिलो अधिकारी हुन् ।
उनलाई बुधवार जिल्ला समम्वय समिति सहित सरकारी कार्यालयहरुले जिल्लामा स्वागत गरेका छन् । जिल्लाले पहिलो पटक सह सचिव स्तरको प्रमुख जिल्ला अधिकारी पाएको हो । यसअघि उप सचिव स्तरका कर्मचारीहरुले प्रजिअको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यसअघि उनले कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यस्तै वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सचिवको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
गृहमन्त्रालयले शिवाकोटीलाई दोलखाको प्रजिअका रुपमा पठाउने निर्णय गरेको थियो । पुख्र्यौली घर दोलखा भएपनि उनी काठमाण्डौं बसाई सरिसकेका छन् । लेखा समुहबाट निजामति सेवामा प्रवेश गरेका शिवाकोटीले सहसचिवमा बढुवा भएसँगै प्रजिअको जिम्मेवारी पाएका हुन् ।