Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रानीवन पहिरोले मानव बस्तीमा निम्त्याएको विपत्ती

चरिकोट — प्रकृतिले पनि कहिलेकाँही अनौठो दुर्घट्ना निम्त्याउँछ, जसको मूल्य निहत्था सर्बसाधरण नागरिकले भोग्नुपर्छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, को रानीवन र तल्लो क्षेत्रको मानवबस्तीमा सोमवार राती यस्तै दुखद् दृश्य देखियो ।

अविरल वर्षातपछि रानीवन क्षेत्रबाट सुरु भएको पहिरोले ठुलो स्वरुप लिँदै मानव बस्तीमा उच्च जोखिम बढाएको छ । उक्त पहिरो स्थानीय घट्टेखोला नाघेर बस्तीतिर छिरेपछि करिब डेढ सय घरपरिवार जोखिममा छन् । सोमवार राति आधा दर्जन बढि घर पहिरोले पुर्ण रुपमा क्षतिग्रस्त बनाएको छ । जोखिमका कारण घरका मानिसहरु सुरक्षित स्थानमा सरिसकेकाले मानविय क्षति हुन नपाएको स्थानीयको भनाई छ । स्थानीय देउराली प्राविमा समेत क्षति पुगेको छ ।

वडा नम्बर ५ स्थित देउपुरथली, भैंसे, काँडाबारी, शिलाफारे, मैदान, बन्देथली बस्तीसहित घट्टेखोला आसपासका बस्ती पहिरोको उच्च जोखिममा परेका हुन् । गत साउन १८ गतेदेखिनै रानीवन क्षेत्रको भिरबाट चलेको पहिरो सोमबारबाट ठुलो रुप लिएको हो ।

बस्तीतर्फ थप पहिरो आउन नदिन गाउँपालिकाले दुई वटा स्काभेटर प्रयोग गरी भल पन्छाउने कार्य गरिरहेको वडा अध्यक्ष सुवास थामीले बताए । घट्टेखोलामा हालिएको पक्की पुलमा बाढीपहिरो थुनिएर तल्लो बस्तीतिर समेत प्रवेश गरेको छ ।

पहिरोले स्थानीय पुस्कर थामी, मगर थामी, नविन थामी लगायत आधा दर्जन स्थानीयको घर डुवाएको स्थानीय शिक्षक चित्र बहादुर खड्काले जानकारी दिए । उनका अनुसार १४ घरपरिवार विस्थापित भैसकेका छन् भने पहिरो नरोकिएकाले अन्य परिवारपनि विस्थापित हुने अवस्थामा छन् । “भुकम्पले भत्काएको घर बल्लतल्ल बनाईएको थियो, फेरी पहिरोले घर भत्कायो, पिडा पोख्दै पीडित नविन थामीले भने, अब कहाँ बस्ने पत्तो छैन ।”

पीडित परिवारले अहिले त्रिपाल र केही खाद्यन्न राहातको भरमा चित्त बुझाउनुपरेको छ । पहिरो रोकथाम र पीडितलाई सुरक्षित स्थानमा सार्ने विषयमा ठोस पहल नभएको पीडितहरुको गुनासो छ । वडा अध्यक्षका अनुसार १४ विस्थापित परिवारलाई सुरक्षित स्थानमा अस्थायी व्यवस्थापन गरिएको र अन्य पहल भैरहेको छ ।

खेतीयोग्य जग्गा बगरमा परिणत
पहिरोले स्थानीयको सयौं रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत गरेको छ । कतिपय किसानले अन्नबाली समेत भित्र्याउन पाएनन् । स्थानीयबासीका अनुसार करिव ५ सय खेतियोग्य जमिन मरभुमीमा परिणत भएको छ । “पहिरोले सबै बारी मरभुमी जस्तै बनाएपछि धेरै किसान सुकुम्वासी बन्ने अवस्था छ, वडा अध्यक्ष थामीले भने ।”

उनका अनुसार जोखिममा परेका बस्ती स्थानान्तरण गरेर दिर्घकालिन व्यवस्थापन गर्नुपर्ने देखिन्छ । त्यसका लागि वडाबाट सिफारिस गरेर माथिल्ल्लो निकायमा प्रयास गरिरहेको उनले बताए । स्थानीय शिक्षक सन्तोष खड्काका अनुसार रानीवन क्षेत्रको जमिन २०७२ सालमा गएको भुकम्पले कमजोर बनाएको थियो ।

गत वर्षबाटै केही भासिन थालेको जमिन यो वर्षको भारी वर्षाका कारण पहिरोमा परिणत भएको हो । पहिरोको जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे, गाउँपालिका अध्यक्ष विन कुमार थामी लगायतले स्थलगत निरीक्षण गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update