Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्थानीय सरकारका जनप्रतिनिधि किन असुरक्षित ?

चरिकोट — कार्यकक्षमा ज्ञापनपत्र बुझ्ने क्रममा गत बिहिवार मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठमाथि दुव्र्यबहार हुनुका साथै सांघातिक आक्रमणको प्रयास समेत भयो । खानेपानी योजनाको विषयमा ज्ञापनपत्र बुझेपछि सबैसँग छलफल गरेर एउटा निष्कर्ष पुर्याउने आसवासन दिँदादिदै एउटा समुहले उक्त घट्ना घटायो ।

प्रत्यक्षदर्शीका अनुसार उक्त समुहले हुलहुज्जत गरी गाउँपालिका अध्यक्षमाथि दुव्र्यबहारसँगै आक्रमण र गाउँपालिकामा तोडफोडको प्रयास गरेको थियो । साथै जनप्रतिनिधिमाथि अपशब्दसहितको नारावाजी गर्दै गाउँपालिकाको बिभिन्न कार्यकक्षमा तालाबन्दी गरिएको थियो । भिड नियन्त्रण गर्न त्यहाँ उपलव्ध सिमित सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्यो । सदरमुकाम चरिकोटदेखि थप सुरक्षावल पुगेपछि मात्रै तनाव साम्य भयो ।
त्यसअघि त्रिभुवन माविको बजेट फ्रिज पठाएको आरोपमा पनि उनीमाथि आक्रमणको प्रयास भएको थियो । अध्यक्ष श्रेष्ठले आफुमाथि आपराधिक समुहबाट पाँच पटकसम्म सांघातिक आक्रमणको प्रयास भएको बताए ।

उनले आफुमाथि पटक पटक आक्रमणको प्रयासपछि असुरक्षित भएको भन्दै ५ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । उनीहरु सबैलाई पक्राउ गरी प्रहरीले मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

विकासे योजनाको विषयलाई लिएर अन्य जनप्रतिनिधिहरुलेपनि शारिरिक/मानसिक तनावका साथै असुरक्षित महसुस गर्न थालेका छन् । दोलखाकै अर्का एकजना गाउँपालिका अध्यक्षले कतिपय समुहबाट विकास निर्माणको विषय देखाएर नाजायज प्रश्न उठाउँदै तनाब दिने र असुरक्षाको वातावरण समेत सिर्जना गर्ने गरेको बताए ।

“विकास निर्माणमा चित्त नबुझे, जनप्रतिनिधिहरुले अतियमितता र भ्रष्टाचार गरेको लागे छानविन र कारबाही गर्ने जिम्मेवार निकाय छ, बिधि, प्रक्रिया छ, उनले भने तर यहाँ मुडेबल प्रयोग गर्ने प्रवृत्ति बढ्दैछ, स्थानीय प्रशासनले यसमा विशेष ध्यान दिन जरुरी छ ।”

विपक्षी राजनीतिक दलहरुको उक्साहटमा नियोजित रुपमा जनप्रतिनिधिहरुमाथि यस्तो घट्ना बढाउन थालिएको स्थानीय सरकारका जनप्रतिनिधिहरुको बुझाई छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले अमुक पार्टीको राजनीतिक स्वार्थका लागि अराजक समुह खडा गरेर जनप्रतिनिधिमाथि आक्रमण गर्ने प्रबृत्ति हाबी हुन थालेको बताए ।

“बिभिन्न बहानामा जनतालाई भ्रममा पार्ने, भड्काउने र अराजक समुहद्धारा स्थानीय जनप्रतिनिधिहरुलाई बदनाम र कमजोर पार्ने योजना देखिन्छ, यो विल्कुल स्वस्थ राजनीतिक अभ्यास होईन, यसमा सबै सचेत हुनुपर्छ उनले भने ।”
मेलुङमा भएको घट्नाप्रति जिल्ला समन्वय समितिसहित ९ वटै स्थानीय तहका जनप्रतिनिधि, गाउँपालिका महासंघ र नेकपा निकट युवा तथा विद्यार्थी संगठनले पनि विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरिसकेका छन् ।

यसअघि कालिञ्चोक गाउँपालिका प्रमुख विन कुमार थामी र तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलमाथि गाउँपालिका केन्द्रको विषयलाई लिएर दुव्र्यबहार भएको थियो ।

योपनि : दोलखामा प्रहरीको भुमिकाप्रति असन्तुष्टि

किन सल्बलायो कांग्रेस ?
लामो समयसम्म खासै राजनीतिक तथा सांगठानिक गतिविधि नगरेको कांग्रेसले पछिल्ला दिनमा सक्रियता ह्वात्तै बढाएको छ । मेलुङ घट्नामा संलग्न भएको अभियोगमा पक्राउ परेका ५ जना युवाहरुको रिहाईको माग गर्दै कांग्रेसले सदरमुकाम चरिकोट ततायो । तीन दिनसम्म लगातार विरोध प्रदर्शन, र्याली, नाराबाजी र प्रधानमन्त्रीको पुत्ला दहन जस्ता कार्यक्रम गरिए ।

कोरोनाको समुदाय स्तरमा फैलिन नदिन जारी गरिएको निषेधाज्ञा समेत तोडेर कांग्रेस प्रदर्शनमा उत्रिएको हो । त्यसमा कांग्रेसका जिल्ला स्थित प्रायः सबै शिर्ष नेताहरु सहभागि बने ।

पार्टीको आसन्न जिल्ला अधिवेशन र नजिकिँदै गरेको स्थानीय चुनावलाई लक्षित गरी कांग्रेसले आफ्नो गतिविधि बढाएको विश्लेषण गरिएको छ । कांग्रेस स्रोतका अनुसार आफ्नो पक्षमा माहोल बनाउन नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बदनाम र कमजोर गराउने रणनीति पार्टीभित्र बनेको छ ।

मेलुङ प्रकरण सोही योजना अन्तर्गत भएको चर्चा छ । केन्द्रिय महाधिवेशन र जिल्ला अधिवेशनमा आफुलाई अब्बल देखाउन कांग्रेस नेताहरुबीच होडबाजीनै चलेको कार्यकर्ताहरु बताउँछन् ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update