चरिकोट – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनप्रतिनिधिमाथि पटक पटक भएको दुर्व्यबहार र आक्रमणको घट्ना सैह्य नहुने चेतावनी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा र विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ती जारी गर्दै झुठा आरोप लगाई जनप्रतिनिधिमाथि भैरहेको दुव्र्यबहार र आक्रमणको कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
जारी विज्ञप्तीमा मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि कार्यालयमै आपराधिक समुहबाट दुव्र्यबहार भएको भन्दै घट्नामा संलग्नहरुमाथि कडा कारबाहीको माग गरिएको छ । अपराधिक गतिविधिमा संलग्न जो कोहिलाई पनि राजनीतिक संरक्षण नगरी कानुनी कठघरामा उभ्याउनुपर्नेमा उल्टै राजनीतिक रुप दिएको घट्नाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा उल्लेख छ ।
“जनप्रतिनिधिमाथि झुठा आरोप लगाएर महामारीको समयमा जे जस्तो अवान्छित गतिविधि भैरहेको छ, यो निन्दनीय छ, यस्तो हर्कत जारी रहे चुप लागेर बस्न सकिँदैन, संघका सह संयोजक नबराज अर्यालले भने ।”
दुई संगठनले कोरोना भाईरस (कोभिड १९) को संक्रमण समुदाय स्तरमै फैलिँदै गएको विषम परिस्थितिमा संयम र जिम्मेवार बन्नुपर्ने भन्दै आपराधिक घट्नामा संलग्नहरुको संरक्षणका लागि आन्दोलन, प्रदर्शन जस्ता कार्यक्रम गरिएको प्रति पनि आपत्ती जनाएका छन् । कोरोना फैलिन नदिन गरिएको निषेधाज्ञा समेत तोडेर भैरहेका हुलहुज्जत, आन्दोलन, पुत्ला दहन जस्ता कार्यहरु तत्काल रोक्न स्थानीय प्रशासनको ध्यानार्षण गराईएको छ ।
राष्ट्रिय युवा संघका जिल्ला संयोजक धिरज सुवेदी, सह संयोजक नवराज अर्याल, अनेरास्ववियुका जिल्ला संयोजक रोशन खड्का र सह संयोजक राजकुमार ढुंगेलले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ती जारी गरेका हुन् ।
मेलुङ गाउँपालिकामा खानेपानी योजनाको विषयलाई लिएर गाउँपालिका अध्यक्षमाथि दुव्र्यबहार र आक्रमणको अभियोगमा ५ जना स्थानीय युवालाई नियन्त्रणमा लिएपछि नेपाली काँग्रेसले सदरमुकाम चरिकोटमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।