Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बाढी–पहिरो पीडितहरुलाई ‘हिमालयन हेल्पिङ्ग ह्यान्ड्सको सहयोग

काठमाडौं – मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाका कारण बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा सयौँले ज्यान गुमाइसकेका छन् भने कतिले आफन्त र परिवार गुमाएका छन् । कति विस्थापित भएका छन् भने कति टुहुरा बनेका छन् । त्यति मात्रै होइन, भूकम्पपछि कमजोर बनेको भूधरातलका कारण देशका थुप्रै बस्तीहरु जोखिममा छन् । नदि र खोलाका नजिकै रहेका बस्तीहरुमा पनि नदि कटानका कारण बाढीको त्रास उत्तिकै छ ।

बाढी र पहिरोको बितण्डाले घर, गोठ र खेतबारी बगाएपछि बेसाहारा बन्नेहरुको संख्या धेरै छ । बाढी र पहिरोले ओत लाग्ने घर बगाएर त लग्यो लग्यो कतिपयका त आफन्त, परिवार र अभिभावक पनि लग्यो । घरसँगै पुरिएका र घरसँगै बगेका कतिपयको त अझैसम्म शव पनि भेटिएको छैन ।

बाढी र पहिरोेले घाइते पारेका र विस्थापित बनाएकाहरुका लागि न गासको व्यवस्था छ न बासको । बस्ती नै बगाएपछि घर न घाटको भएकाहरुका लागि यतिबेला साहारा बनेको छ – हिमालयन हेल्पिङ्ग ह्यान्ड्स ।

बाढी र पहिरोको बितण्डाले अत्यावश्यक सामाग्रीको समेत अभावमा छटपटाइरहेकाहरुलाई मल्हम लगाउँदै हिमालयन हेल्पिङ् ह्याण्डस्ले अत्यावश्यक सामाग्री वितरण गर्दै आइरहेको छ ।

लस एन्जलस् क्यालिफोर्नियाको हिमालयन हेल्पिङ्ग ह्यान्ड्स्का संयोजक कपिल अधिकारीसँगसँगै मनी माया अधिकारी, अस्मिता अधिकारी, उत्तम अधिकारी, शरण अधिकारी, राम अधिकारी, गोकुल ढकाल, गोभिन्द चन्द, उत्तम जङ थापा लगायतको टीमले प्राकृतिक प्रकोपबाट पीडित बनेकाहरुलाई जुटाएको सहयोग अर्जुन बिष्ट, विरेन्द्र धामी, रिच मनोज श्रेष्ठ लगायतको टीमले वितरण गरिसकेको छ ।

हिमालयन हेल्पिङ् ह्याण्डस्ले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकामा गएको पहिरो पीडित, सिन्धुपाल्चोककै जुगल गाँउपलिका लिदि बस्तीमा गएको विनाशकारी पहिरोपीडित नागरिकहरु, अछाम रामारोशन गाउँपालिकाका बाढीपीडित र बाजुरा बडीमालिकाका बाढीपहिरोपीडित लगायतका नागरिकहरुलाई अत्यावश्यक सामाग्रीहरु तथा नगद गरी १३ लाख बढी रकम वितरण गरिसकेको छ ।

उक्त टीमले बाह्रविसे नगरपालिकामा गएको पहिरोमा आफ्ना पूरै छ जनाको परिवार गुमाएकी छिरिङ्ग गोलेलाई आर्थिक सहयोग गरेको छ । सोही पहिरोमा परी घरबार गुमाएर विद्यालयको छानामुनी ओत लागेर बसेका र अन्य पीडित गाउँलेहरुका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यसैगरी, अर्जुन विष्टको टीमले सिन्धुपाल्चोककै जुगल गाँउपलिका(२ लिदिमा ३९ जनाको एकै चिहान हुने गरी गएको पहिरोमा परी भएको घरपरिवार गुमाएर निकै दर्दनाक स्थीतिमा बाँचिरहेकाहरुलाई नगद पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

यस्तै, हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितहरुका लागि सुरक्षित र स्थायी बसोबासका लागि चालिस वटा पक्की घरको निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जानकारी गराएका छन् । जसका लागि शुरु गरिएको ‘गो–फन्ड’ अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।

यता, हिमालयन हेल्पिङ्ग ह्यान्ड्स्कै सहयोगमा अछामको रामारोशन गाउँपालिका–५ मा पहिरोले १०० भन्दा बढी घरहरु बगाएर उजाड बगरमा परिणत भएको गाउँपालिकाको ७ वटै वडा लगाएत बान्नीगढी गाँउपालिका र मंगलसैन नगरपालिकाका खोला आसपास क्षेत्रका केहि भुभागका घरबारबिहीनलाई समेत राहत वितरण गरेको छ ।

खोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको उक्त स्थानमा केही व्यक्तिहरुको घर, खेत, पसल, गाईबस्तु र अन्य सर–सामान पनि बाढीले बगाएको छ । दैनिक जीवनयापनका लागि चाहिने सामाग्रीहरुको समेत अभावमा रहेका उक्त स्थानका पीडित परिवार र अन्य उच्च जोखिममा रहेका परिवारलाई सरकारले वितरण गर्ने राहत पीडितसम्म नपुगेको अवस्थामा हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले राहत वितरण गरेको हो ।

रामारोशनका बाढीपीडित परिवारलाई हेल्पिङ्ग ह्यान्ड्सले तीन लाख बढीको त्रिपाल, सिरक, डसना, तन्ना, म्याट, दाल, तेल, साबुन, चिउरा, चाउचाउ लगायतका अत्याश्यक सामग्रीका साथै मृतकका प्रत्येक परिवारलाई सात हजार र विस्थापित भएका प्रत्येक परिवारलाई चार हजारका दरले नगद रकम सहित हस्तान्तरण गरेको छ ।

यति मात्रै होइन, यस संस्थाले बाजुरा जिल्लाको बुडिगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बुडिनन्दा नगरपालिका र बडिमालिका नगरपालिका अन्तर्गतका बस्तीमा पसेको बाढीका कारण विस्थापित भएका सयौंँ बाढीपीडित परिवारहरुलाई हिमालयन अत्यावश्यक सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ ।

विभिन्न समयमा आएको बाढी–पहिरो बुढीगंगा नदी किनारका बस्तीमा पसेपछी त्यहाँका सयौं घर, तिन सय भन्दा बढी खेत, ४० भन्दा बढी घट्ट, पावरहाउस, लगाएत सयौँ चौपाया बगाउँदा करौंडौको क्षति भएको छ। भने अन्य धेरै भौतिक संरचनाहरु पनि तहसनहस बनाएको छ । त्यस्तै बाढी पहिरोको कारण सयौँ रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको छ ।

बाजुराका बाढी पिडित परिवालाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले दुई लाख बराबरको अति आवस्यक सामग्री, ५० के. जी. को चामल ५० बोरा, दाल, तेल, चिउरा, साबुन लगाएतका सामग्रीका साथै पचास हजार नगद रकम पनि हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update