चरिकोट—दोलखाका स्थानीय तहका जनप्रतिनिधिहरुले मेलुङ गाउँपालिकाको कार्यालय तथा अध्यक्षमाथि भएको दुव्र्यवहार र आक्रमणको घट्नामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति र ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले आईतवार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
यही भदौं ३१ गते गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भएको दुर्व्यबहार र आक्रमणको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुले गैरकानुनी कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गरी कानुनी राज्यको प्रत्याभुति गराउन माग गरेका छन् । “यस्तो कार्यको दोलखाका सबै स्थानीय सरकार घार भत्सर्ना गर्दछौ र आगामी दिनमा यस्ता गैरकानुनी कार्य नगर्न र त्यस्ता कानुन विपरित कार्य गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याई कानुनी राज्यको प्रत्याभुति गराईयोस् भनी जोडदार माग गर्दछौं” विज्ञप्तीमा भनिएको छ ।
जारी विज्ञप्तीमा केही राजनीतिक दलको आडमा गैरकानुनी कार्यलाई ढाकछोप गर्नका लागि आन्दोलन भएको उल्लेख छ । विकास बिरोधी तत्वहरु कुनैपनि राजनीतिक दलको कार्यकर्ता हुन नसक्ने भन्दै आपराधिक घट्नालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, शैलुंग गाउँपालिकाका अध्यक्ष भरत दुलाल, मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठ, गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयं बहादुर खड्का, कालिञ्चोक गाउँपालिका अध्यक्ष विन कुमार थामी, भिमेश्वर नगरपालिका उपाध्यक्ष कमला बस्नेत, बैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य, विग गाउँपालिका उप्रमुख सञ्जिव ओली र जिसस प्रवक्ता मुरारीराज शिवाकोटीले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
यसैविच गाउँपालिका राष्टिय महासंघ नेपालले पनि गाउँपालिका अध्यक्षमाथि भएको भौतिक आक्रमणको बिरोध जनाउँदै दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । अध्यक्ष होमनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा जनप्रतिनिधिलाई निर्वाध रुपमा नागरिकको सेवामा रहने वातावरण बनाई शान्ति सुरक्षा कायम गर्न विज्ञप्तीमा माग गरिएको छ ।
स्थानीय विकासे योजनाको विषयलाई लिएर भदौ १८ गते मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठमाथि युवाहरुको एक समुहले कार्यालयमै दुव्र्यवहार गर्नुका साथै आक्रमणको प्रयास गरेको थियो । त्रिभुवन माविको बजेट फ्रिज गएको विषयलाई लिएर पनि गाउँपालिका अध्यक्ष श्रेष्ठमाथि आक्रमण प्रयास भएको थियो । अध्यक्ष श्रेष्ठले आफुमाथि ५ पटकसम्म नियोजित रुपमा आक्रमणको प्रयास भएको बताए ।
उक्त घट्नामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय प्रविण थोकर, कृपासुर गोले, सपना गोले, सुदिप गोले र मधुकर गोलेलाई पक्राउ गरी मुद्धा चलाएको छ ।
नेपाली काँग्रेस दोलखाले भने विकासे योजनाबारे ज्ञापनपत्र बुझाउन गएका निर्दोष नागरिकलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरेको छ । काग्रेसको नेतृत्वमा सदरमुकाम चरिकोटमा शनिवार र आईतवार प्रदर्शन समेत भएको छ ।