चरिकोट — दोलखाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिञ्चोक गाउँपालिकाका २ र विगु गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विगु गाउँपालिकाबाट पछिल्लो पटक ६४ जनाको स्वाब संकलन गरी पठाईएकोमा शनिवार एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
यस्तै वडा नम्बर ५ र ७ का एक जना पुरुष र महिलामा पनि संक्रमण पुष्टि भएको छ । उपचारका लागि हालै जिल्लाबाट काठमाण्डौं पुगेका एक जना र काठमाण्डौंमै बस्ने एक जनामा संक्रमण पुष्टि भएको सूचना प्राप्त भएको गाउँपालिका अध्यक्ष विन कुमार थामीले जानकारी दिए ।
स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि ७ नम्बर वडा कार्यालय बन्द गरिएको छ । सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि काठमाण्डौं रिफर गरिएकी महिलामा संक्रमण पुष्टि भएको हो ।
उपचारको क्रममा स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले कालिञ्चोकका दुई जनामा संक्रमण देखिएको जानकारी आएपनि जिल्लाबाट पठाईएको स्वाबको रिपोर्ट नभएको बताए ।
यसैबीच जिल्लामा संक्रमण पुष्टि भएकामध्ये २३ जना निको भएर घर फकिएका छन् । शनिवार विहान गौरीशंकर गाउँपालिकाका एक जना पुरुष र २ जना महिला तथा विगु गाउँपालिकाका २ जना पुरुष कोरोना जितेर डिस्चार्ज भएका हुन् । उनीहरुलाई सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको थियो ।
योसँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या २३ पुगेको छ । यसअघि १८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अब दोलखामा सक्रिय संक्रमितको संख्या १० मात्रै रहेको छ ।