चरिकोट – दोलखाका १८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । जिल्लामा हालसम्म जम्मा ३१ जनामा संक्रमण पुष्टि भएकोमा अधिकांस संक्रमित डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बुधवारसम्म १८ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए ।
बुधवार एकैदिन कोरोना जितेका ७ जनालाई डिस्चार्ज गरी घर पठाईएको छ । जसमा ४ महिला र ३ पुरुष रहेका छन् । सदरमुकाम चरिकोट स्थित एक गैरसरकारी संस्थामा कार्यरत कर्मचारी ४ जना, २ जना सरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मी बुधवार आईसोलेसनबाट घर फर्किएका हुन् ।
उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका स्वास्थ्यकर्मीको टोलीले बिदाई गरे । चितवन तालिममा गएर फर्किएका कर्मचारी, तालिम लिएर तराईबाट आएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा ११ दिन बसेर उनीहरुले कोरोना जितेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुलाई दोश्रो पटक गरिएको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
गौरीशंकर, भिमेश्वर र कालिञ्चोक गाउँपालिकाका संक्रमितहरु उपचारपछि घर फर्किएका हुन् । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका मध्ये ११ जना यसअघि नै उपचारपछि घर फर्किईसकेका छन् ।