चरिकोट – भिषण हावाहुरी र वर्षातका कारण कालिञ्चोक गाउँपालिकामा ठुलो धनमालमा क्षति पुगेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ र ७ तथा त्यस आसपासका क्षेत्रमा मंगलबार वर्षात सँगै चलेको भिषण हावाहुरी र पहिराले स्थानीय कृषि फर्म तथा खेतवारीमा क्षति पुर्याएको हो ।
हावाहरी र पहिरोले कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ स्थित गणेश बस्नेतको उदिप पोल्टी फार्म पुर्दा १ हजार भन्दा बढी कुखुरा मरेका छन् । फर्मको भौतिक संरचना र कुखुरा समेत पुर्दा १० लाख भन्दा बढीको क्षति पुगेको स्थानीयले बताएका छन् । पहिरोले सुनखानी साङ्वा सडक अन्तर्गतको दुधपोखरी खण्डमा पनि क्षति पुगेको छ ।
यस्तै कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ स्थित बुढाथोकीहरुको साँस्कृतिक कुल देवता रहेको क्षेत्रमा पनि हावाहुरी र वर्षातले क्षति पुर्याएको छ । हावाहुरीले ठुलो संख्यामा रुखहरु ढलेका छन् भने ठाउँठाउँमा पहिरो गएको छ ।