Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विपदमा परी ज्यान गुमाएका दोलखाका ४ जनाको परिवारलाई ६ लाख राहात दिने निर्णय

चरिकोट - बर्षातको समयमा विपद्मा परी यो वर्ष ज्यान गुमाएकाको परिवारलाई राहात उपलब्ध गराईने भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले जिल्लाको बिभिन्न स्थानमा विपद्मा परी मृत्यु भएका ४ जनाको परिवारलाई ६ लाख रुपैयाँ राहात दिने निर्णय गरेको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर २, बावरे निवासी रेनुका थामी र वडा नम्बर ४ का सुरज शिवाकोटीको परिवारलाई जनहि २/२ लाखका दरले राहात दिने निर्णय भएको गाउँपालिका अध्यक्ष विन कुमार थामीले जानकारी दिए ।

अत्याधिक वर्षापछि सिंगटी स्थित घरमा माथिबाट खसेको ढुंगा लागेर रेनुकाको साउन १३ मृत्यु भएको थियो भने शिवाकोटीको गौरीशंकर गाउँपालिकामा आएको बाढीपहिरोमा परी गत साउत २२ गते मृत्यु भएको थियो ।

यसैगरी भिमेश्वर नगरपालिका वडा नम्बर ६ का कृष्ण तामाङ र विगु गाउँपालिका वडा नम्बर १ की सोमती श्रेष्ठको परिवारलाई जनही १/१ लाख रुपैयाँका दरले राहात दिईने भएको छ । तामाङको कल्भर्टबाट बग्दा र श्रेष्ठको स्थानीय घट्टेखोलाले बगाउँदा मृत्यु भएको थियो ।

यसैबीच पहिरोबाट घरमा पुर्ण रुपमा क्षेति पुगेका गौरीशंकर गाउँपालिकाका ८ र जिरी नगरपालिकाको १ घर परिवारलाई मापदण्ड बमोजिम राहात दिने निर्णय गरिएको छ ।

वर्षातको समयमा आएको बाढीमा परी बेपत्ता भएकाहरुको घट्ना सम्बन्धि प्रहरी जाहेरी र सम्बन्धित गाउँपालिकाको सिफारिस सहित गृह मन्त्रालयमा राहात उपलब्ध गराउन स्वीकृतिको लागि पठाई निकासा भएबमोजिम राहात उपलब्ध गराउने विपद व्यवस्थापन समितिको निर्णय छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update