Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा लकडाउन खुकुलो : पसल, बैंक, कार्यालयहरु र दुईपाङ्ग्रे सवारी साधनपनि सुचारु हुने

चरिकोट – दोलखामा कोरोना संक्रमण दर बढेसँगै पुन कडाई गरिएको लकडाउन खुकुलो हुने भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले विशेष स्वास्थ्य सुरक्षा अपनाएर यही भदौ २२ गतेसम्म लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

बैठकमा सहभागि भएका समितिका एक सदस्यका अनुसार सार्वजानिक यातायात संचालन नहुने भएपनि अत्यावश्यक र दुई पांग्रे सवारी साधनलाई जिल्लाभित्र संचालन गर्ने निर्णय भएको छ ।

यसैगरी जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गराएर जिल्लाका सबै सरकारी तथा गैर सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहमरुको सेवा सुचारु गरिने भएको छ ।सिङगटी र आसपासका क्षेत्र बाहेक जिल्लाका बजार पसलहरु विक्रेताले माक्स र पञ्जा तथा क्रेताले माक्स अनिवार्य लगाई दिनको ८ बजेसम्म खुल्ला गर्ने निर्णय छ ।

विकास निर्माण जलविद्युत आयोजना लगायत उद्योग कलकारखना स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न दिने निर्णय पनि भएको छ । यस्तै होटल तथा रेष्टुरेन्टहरु सामान किनेर लैजाने (टेक अवे) सेवा मात्र संचालन गर्न दिईनेछ ।

शैलुन र व्युटीपार्लर बन्द गर्ने, जुनसुकै प्रकारका भेला समारोह नगर्ने निर्णय भएको छ । नित्य पूजा बाहेक देवालयहरुमा पुजा तथा धार्मिक क्रियाकलाप गर्ने नदिने, निर्माण सामाग्रीहरुको ढुवानी विहान साँढे ८ सम्म र बेलुकी साढे ५ बजेपछि मात्र गर्ने र रातीको समयमा कुनैपनि सवारी साधन संचालनमा निषेध गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update