Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेलुङ गाउँपालिकामा विशेषज्ञसहितको टोली खटाएर रेबिज नियन्त्रणको प्रयास

चरिकोट – दोलखाको मेलुङ गाउँपालिकाले विशेषज्ञ सहितको टोली परिचालन गरी रेबिज नियन्त्रण अभियान थालेको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगत महामारी रोग नियन्त्रण महाशाखा टेकुबाट झिकाईएका विशेषज्ञसहितको टोलीले रेबिज नियन्त्रण कार्य सुरु गरेको हो । उक्त टोलीले शुक्रवार एकैदिन ५१ जनालाई एन्टी रेविज भ्याक्सिन लगाएको छ ।

गत असार २६ गते कुकुरले टोकेका परिवारका सदस्य सहित ५१ जनालाई निशुल्क रुपमा एन्टी रेबिज भ्याक्सिन लगाईएको हो । रेबिजको डोज पुर्याउन उनीहरुलाई क्रमशः १४ र १९ गते समेत भ्याक्सिन लगाईनेछ । गत असार २६ गते एउटै कुकुरले टोकेका १० जनामध्ये दुई बालक र एक युवकको मृत्युसँगै रेबिजको त्रास फैलिएपछि त्यसको नियन्त्रणका लागि गाउँपालिकाले विशेष पहल गरेको जनाएको छ ।

गाउँपालिकाका अनुसार शनिवार मेलुङ टुडिखेल, सुनारपानी टोल, छाप, तिनपिल्ने, कात्तिके, सुनबिर्ता, जोरपिपल, बिरौटा, खड्गथोक कलिचौर, भिरबारी, ठाडिपहिरी सेतिदेबी प्रावि जोगिगाउँ, सितली लगायतका बस्तीमा एन्टी रेबिज विरुद्धको भ्याक्सिन लगाईदैछ ।

गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले रेबिजबाट अकल्पनिय र दुखद घट्ना भएको भन्दै रेबिज नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराखि प्रयास गरिरहेको बताए । कुकुरले टोकेका व्यक्ति र घरपालुवा कुकुरमा एन्टी रेबिज भ्याक्सिन लगाउन बाँकी रहे गाउँपालिकाको स्वास्थ्य टोलीसँग तत्काल सम्पर्क गर्न उनले आग्रह गरे ।

गाउँपालिले कुकुरले टोकेकाहरुको एकिन तथ्यांक संकलन गरिरहेको छ । विशेषज्ञसहितको टोलीबाट तत्काल ५ सय थान एन्टी रेबिज भ्याक्सिन लगाउने तयारी छ ।

भ्याक्सिन लगाउँदा प्राविधिक त्रुटी
स्वास्थ्य विभागबाट झिकाईएका विशेषज्ञहरुसहितको टोलीले कुकुरले टोकेपछि लगाईएको भ्याक्सिनको समयतालिकामा त्रुटी भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । टोलीले शुक्रवार स्थलगत रुपमा गरेको अध्ययनको आधारमा उक्त निष्कर्ष निकालेको हो ।

डाक्टर शंखर पाण्डले तालिका अनुसार भ्याक्सिन नलगाएको र खोपलाई आवश्यक तापक्रममा नराखिएकाले घट्ना भएको हुनसक्ने बताए । उनका अनुसार आवश्यक तापक्रममा नराख्दा भ्याक्सिनले काम नगर्नसक्छ ।

मेडिकल संचालकबिरुद्ध किटानी जाहेरी
गत असारमा एउटै कुकुरले टोकेका मध्ये ८ वर्षिय कुशल नेपाली, १५ वर्षिय सरोज विक, र ३२ वर्षिय रामचन्द्र भण्डारीको भाद्र १० गते काठमाण्डौको पाटन अस्पतालमा मृत्यु भैसकेको छ । उनीहरुलाई स्थानीय मेडिकलबाट एन्टी रेबिज भ्याक्सिन लगाईएपनि मृत्यु भएको हो ।

मेडिकल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । खोपको टाईमिङमा उनले गम्भिर लापरबाही गरेको बताईएको छ । मृतक रामचन्द्र भण्डारीका परिवारले उनीमाथि कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update