टोक्यो — स्वास्थ्यका कारण जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री आबेले राजीनामा दिन लागेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
योसाता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका आबेको स्वास्थ्यमा समस्या देखिएको थियो । लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित उनको पछिल्लो समय स्वास्थ्य अवस्था थप बिग्रिएको बताईएको छ ।
कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने भएपनि आबेले स्वास्थ्य समस्याका कारण त्यसअघि नै राजीनामा दिन लागेका हुन् । आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् ।
कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै उनको धेरै आलोचना पनि भएको थियो । उनी जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री सम्हाल्ने व्यक्ति हुन् ।