Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना जितेका युवक भन्छन् : कोरोना जितिन्छ तर समाजको गलत व्यबहार बदल्नुपर्यो,

सिंगटी – कालिञ्चोक गाउँपालिका वडा नम्बर–३ का २६ वर्षिय मोतिराम (नाम परिबर्तन) ले दुई साता धुलिखेल अस्पतालको आइसोलेसनमा बसेर कोरोना जिते । साउन २९ गते आइसोलेसनमा भर्ना भएका उनी भदौ ९ गते डिस्चार्ज भएका हुन् ।

निको भएर घर फकिएपनि उनी अझै सामाजिक दुरी पालना गरेर बस्छन् । उनी अहिलेसम्म आफन्तको घरमा पुगेका छैनन् र उनको घरमा पनि प्रायः आफन्तहरु आउँदैनन् । उनलाई भेट्न आउँनेहरु परै बस्छन् । ‘म निको भएर घर फर्किसकेपछि अहिलेसम्म पनि सबै सँगै बसेको छैनौं,’ उनी भन्छन्, ‘म छुट्टै एक्लै बस्छु ।’

साउनको तेस्रो साता भारतबाट एकैसाथ घर फर्किएका १ सय ४४ जनामध्ये उनको मात्रै रिपोर्ट पोजेटिभ देखियो । कोरोनाको उनमा कुनै लक्षण देखिएको थिएन, त्यसैले सुरुमा उनलाई पत्यार लागेन । तर संक्रमण पुष्टी भएपछि उनी घर परिवारलाई निको भएर छिट्टै घरमा आउँछु भन्दै साउन २९ गते अस्पताल गएका थिए ।

‘अस्पतालको आइसोलेसनमा रहँदा त्यति सहज वातावरण त थिएन ‘तर आफैले खानपानमा ध्यान दिँदा र मनोबल उच्च बनाएकै कारण निको भएर छिट्टै घर फर्किएको छु, उनले भने ।’ अस्पतालमा गरिएको केयरलेस र बेवास्ताप्रति भने उनको धेरै दुखेसो छ । 

दरिलो आत्मवलका कारण कोरोना जितेको बताउने उनी अरुलाई पनि यस्तै सुझाव दिन्छन् । कोरोना संक्रमण, त्यसपछिको अवस्था र उनको भोगाइमा केन्द्रित भएर ती युवकसँग साझावोलीका लागि अभिनय कार्कीले गरेको कुराकानी :

  • कोरोना जितेर घर फर्किनुभएको छ, अहिले तँपाईलाई कस्तो छ ?
    -धेरै खुसी लागेको छ, संक्रमण पुष्टी भएपछि एक प्रकारको तनाव भएको थियो । तर अहिले पुर्नजिवन प्राप्त गरेजस्तै महसुस भएको छ ।
  • तपाईलाई कोरोना पोजेटिभ देखियो भन्ने खबर सुन्दा सुरुमा कस्तो अनुभुति भएको थियो ?
    -अब आफुलाई लक्षण त देखा परेको थिएन । भारत हुँदै गर्दापनि २ पटकसम्म परिक्षण गरेको थिएँ । त्यस्तो खासै केही देखाएको थिएन । म संगै अएका १३५ जना सबैको रिपोर्ट नेगेटिभ आउँदा मनमा एक किसिमको मानसिक तनाव हुँदो रहेछ ।
  • कोरोना संक्रमण भन्ने खबर आएपछि तँपाईले भोगेको मनोबैज्ञानिक असर, घरपरिवार र समाजको बुझाई चाँही कस्तो रह्यो ?
    -म भित्र कोरोनालाई जित्नसक्छु भन्ने मनोबल त थियो । तर समाजका केही व्यक्तिहरुले गरेको व्यवहार देखि चाहिँ निकै दुख लाग्यो । त्यस्तो संकटको अवस्थामा केही हुँदैन भनेर हौसला दिनुको सट्टामा समाज बाट अपहेलित हुनुपर्यो । उल्टै तैले कोरोना लिएर आईस भनेर मानसिक तनाब दिए ।
  • अस्पतालमा दुई हप्तासम्मको बसाई कस्तो रह्यो ?
    -अस्पताल बसाईको कुरानै नगरुम बरु त्यहाँ भन्दा घरमा बस्दानै सुरक्षित रहेको महसुस हुँदो रहेछ । अस्पताल बाहिर साबुन पानीको प्रयाप्त मात्रामा प्रयोग गर्नुस भन्नू भयो । तर भित्र जादा साबुन पानीकै अभाव भयो । बाहिर बाट आफन्तलाई भनेर पानी र माछा मासु मगाएर खाए । अस्पतालमा खानाको समय भएन । त्यहाको रुटिङ्ग अनुसार बिहानको ८ बजे खाना दिने भन्ने थियो तर कुनै दिन त ११ : ३० तिर पो खाना आयो । अब खाना खाने समय नै मिलेन । सबै भन्दा समस्या अस्पताल भित्र पिउने पानी र साबुनको व्यहोर्नु पर्यो ।
  • अहिलेसम्म कुनै औसधि त पत्ता लागेको छैन तर कोरोनालाई कसरी जितेजस्तो लाग्छ ?
    -सबै भन्दा ठुलो कुरा मलाई केहि पनि भएको छैन भन्ने सोचको विकास गरेँ । आफ्नो मनोबललाई बलियो बनाए । खानपिन र सरसफाइमा विशेष ध्यान दिए । नकारात्मक सोचहरुलाई बिस्तारै कम गर्दै गए । म आफुले आफैलाई समाल्दै आए र जिते जस्तो लाग्छ ।
  • कतै एकपटक कोरोना सङ्क्रमण भएकै कारण समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यबहार अर्कै हुन्छ भन्ने त्राश छ कि ?
    -यो कुरामा मलाई धेरै डर छ । किनकी मलाई कोरोना रहेनछ भनेपनि समाज र अरुले मानसिक तनाव दिने क्रम रोकिदो रैनछ । त्यो कुरादेखि मलाई निक्कै डर छ । आजको हाम्रो शिक्षा यहीँ हो । हाम्रो समाज यहि हो । त्यसैले यो कुरामा सुधार हुनुपर्छ । तब मात्र संक्रमितको मनोबलमा वृद्धि हुँदै जान्छ, र सबैले कोरोना जितन सक्छौं ।
  • अब कोरोना जितेर आएपछि चाँही कोरोनाबारे तँपाईको बुझाई के छ ? अरुलाई के भन्न चाहानुहुन्छ ?
    -कोरोना बारे मेरो बुझाई भनेको रोगले भन्दा पनि समाज र अरुले गर्ने व्यवहारकै कारण संक्रमित थप मानसिक तनाब खेप्न पर्दो रहेछ । यहीँनै हो मेरो बुझाई । संकटको अवस्थामा संक्रमितलाई अत्याउने र आफू पनि आत्तिने नगर्नुहोला । सरसफाइमा विशेष ध्यान दिनुहोला । बाहिरको मान्छेले गर्ने व्यवहार बाटनै रोग ५० प्रतिशत जति कम हुने रहेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update