Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेलुङमा रेबिज मृत्यु प्रकरण : गुणस्तरहिन भ्याक्सिन प्रयोग भएको आशंका, स्वास्थ्यकर्मी पक्राउ

चरिकोट – मेलुङमा लगाईएको निजी मेडिकलको ‘एन्टी रेबिज भ्याक्सिन’को गुणस्तरमाथि प्रश्न उठेको छ । जिल्लाको मेलुङ गाउँपालिमा कुकुरको टोकाईपछि रेविज बिरुद्धको भ्याक्सिन लगाईएपनि ३ जनाको मृत्यु भएपछि भ्याक्सिनको गुणस्तरतामाथि आशंका गरिएको छ ।

उक्त भ्याक्सिन मेलुङ गाउँपालिका स्थित एक निजी मेडिकलबाट खरिद गरिएको थियो । गाउँपालिकाको सामाजिक विकास समितिको बुधवार बसेको बैठकले भ्याक्सिनको गुणस्तरतामाथि आशंका गर्दै थप जाँच र अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

गाउँपालिकाका प्रवक्ता हिरा थोकरका अनुसार बैठकले भ्याक्सिनको जाँच र अनुसन्धान गर्न शुक्रराज ट्रपिकल अस्पताल र पशुस्वास्थ्य विभागबाट विशेषज्ञ टोली झिकाउने निर्णय गरेको छ । “भ्याक्सिन निजी मेडिकलमा राखिएकाले भ्याक्सिनलाई चाहिने आवश्यक तापक्रम लगायतका वातावरण थियो की थिएन भन्ने हो, उनले भने, यसबारे थप अनुसन्धान गर्न माथिल्लो निकायबाट विशेषज्ञ टोली झिकाउने निर्णय भएको छ ।”

गत असार २६ गते मेलुङ गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ नम्बरका एक दर्जन व्यक्तिलाई कुकुरले टोकेपछि सोही निजी मेडिकलमा उपलब्ध भ्याक्सिन प्रयोग गरिएको थियो । कुकुरले टोकेकामध्ये ८ र १४ वर्षिय दुई जना वालक र ३० वर्षिय युवकको मृत्यु भएको छ ।

वडा नम्बर ६ का युवक रामचन्द्र भण्डारीको बुधवार विहान काठमाण्डौंको टेकु अस्पतालमा करिब डेढ महिनापछि उपचारको क्रममा मृत्यु भयो । भ्याक्सिले काम नगरेका कारण उनीहरुको मृत्यु भएको भन्ने स्थानीयको आशंका छ । तीन जनाको मृत्यु भएपछि सोही कुकुरले टोकेका र उनीहरुसँग सम्पर्कमा आएका अन्यमापनि त्रास बढेको छ ।

यसैबीच बिना योग्यता मेडिकल र फार्मेसी चलाउने र रेविज विरुद्धको भ्याक्सिन दिने स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सिएमएको योग्यता भएकाले मेडिकल र फार्मेसी संचालन गर्न पाउँदैन । मेलुंगमा सिएमए उतिर्ण गरेकाले मेडिकल र फार्मेसी संचालन गरेको पाईएको छ ।

ती स्वास्थ्यकर्मीलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २३० को उपदफा १ बमोजिम नियन्त्रणमा लिईएको र सो अनुसार कसुर गरेको पाईएमा मुद्धा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढ्दो दोलखा प्रहरीले जनाएको छ । रेविज विरुद्धको गलत भ्याक्सिन दिएको भन्दै मृतकका आफन्तजनले स्थानीय मेडिकल तोडफोड समेत गरेका छन् ।

गाउँपालिकाले बिहिवारदेखिनै तीन वटै वडामा स्वास्थ्य टोली परिचालन गरेर कुकुरले टोकेका सबैको कन्ट्याक्ट ट्रसिङ गरी एन्टी रेबिज भ्याक्सिन लगाउने भएको छ । यस्तै गाउँपालिका भित्रका सबै कुकुरहरुलाई भ्याक्सिन लगाउने निर्णय पनि भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update