सिन्धुली – कोरोना भाईरस् (कोभिड १९) को रोकथाम र नियन्त्रण गर्न सिन्धुलीमा एक सय बेडको आईसोलेसन सञ्चालनमा आउने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा जिल्लामा उक्त आईसोलेशन संचालनमा आउन लागेको हो ।
सिन्धुलीमाढीमा निर्माणाधीन ५० बेडको आइसोलेसन भवनको बुधवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले निरीक्षण गरेका छन् । उक्त भवन १५ दिनमा सम्पन्न गरी संचालनमा ल्याउने तयारी छ । स्थानीय जिम्मेवार निकायले मन्त्री दुलाललाई दुई हप्तामा आईसोलेसन संचालनमा ल्याउनेगरी काम भैरहेको जानकारी गराएका छन् । यो सँगै सिन्धुलीमा १ सय बेडको आइसोलेसन हुनेछ ।
यसैबीच सामाजिक विकास मन्त्रालय र सिन्धुलीका सरोकारवाला निकायबीच कोभिड प्रयोगशाला स्थापना गर्ने विषयमा सहमति भएको छ । मन्त्री दुलालको नेतृत्वमा रहेको मन्त्रालयको टोली र सिन्धुलीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी अस्पतालका प्रतिनिधिहरुबीच यस्तो सहमति भएको हो ।
सिन्धुली जिल्ला भ्रमणको अबसरमा मन्त्री दुलालले सिन्धुली अस्पताल, कोभिड उपचार केन्द्र र प्रदेश सरकारको सहयोगमा निर्माण हुँदै गरेको सिन्धुली रङ्गशालाको पनि निरीक्षण गरेका छन् ।