काठमाण्डौं - साल्ट ट्रेडिङ कर्पोरेशनले बिहीवारदेखि किसानलाई मल बितरण गर्ने भएको छ । किसानलाई बितरण गर्ने २५ सय टन युरिया मल विरगञ्ज आईपुगेको छ ।
कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बुधबारसम्म भन्सार पास गरेर बिहीबारबाट किसानलाई वितरण गरिने जानकारी दिए । कृषि मन्त्रालयको समन्वयमा कुन कुन जिल्लामा मल पठाउने भनेर बनाईएको तालिका अनुसार बितरण गरिने उनले बताए ।
उक्त मल मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लामा वितरण गर्ने सरकारको तयारी छ । लकडाउनका कारण गतवर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आवको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल कलकक्तामा करिब ३ महिनादेखि अड्किएको थियो।
लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रन सुरू गरेको जनाईएको छ । त्यसलगत्तै कृषि सामाग्री कम्पनी लिमिटेडको मल आउन सुरु हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।