काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई बिवादमा तानिएका छन् । उनले चिनियाँ राजदूतावासबाट तीन वर्ष अघि लिएको १५ लाख रुपैयाँ बिवादित बनेको हो । नेपाल भारत सम्बन्धको बारेमा रिसर्च गर्ने भन्दै लिईएको उक्त रकम भट्टराईले नबिल बैंकमार्फत् बुझेको हस्ताक्षरसहित विवरणसमेत ग्लोबल वाच एनालिसिसले सार्वजनिक गरेको छ ।
१५ अक्टोबर सन् २०१७ देखि ३० डिसेम्बर २०१७ सम्म नेपाल भारतबीचको सन् १९५० को सन्धिसँग सम्बन्धित विषयबारे रिसर्च गर्ने भन्दै उक्त प्रोजेक्ट चलाईएको थियो । प्रोजेक्ट संयोजकमा भट्टराईले गीता गौतमको नाम राखेपनि रकम आफ्नै हस्ताक्षरमा बुझेको देखिएको छ ।
फ्रान्स केन्द्रित खोजमुलक पत्रकारिता गर्दै आएका रोल्यान्ड ज्याकर्डले नेपालः द न्यु चाइनाज स्याटलाइट स्टेर शिर्षकमा एक्स्क्लुसिभ भन्दै यो विषय सार्वजानिक गरेको हो । चीनको राज्य नियन्त्रित कम्पनिहरुले नेपालमा धमाधम ठेक्का पाइरेको विषय पनि समाचारमा उल्लेख छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले नेपालको राज्य संयन्त्रमा आफ्ना बफादारहरु धमाधम तयार गरिरहेको र त्यसका लागि उसले विभिन्न माध्यमले सहयोग गर्ने गरेको ज्याकर्डको समाचारमा आरोप लगाईएको छ । उक्त रकम पाउँदा भट्टराई नेपाल भारत प्रबुद्ध समुहको सदस्य रहेको समेत भनिएको छ ।
यसअघि ज्याकर्डले प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यको स्वीस बैंकमा रकम रहेको, चिनियाँ कम्पनिसँग वर्तमान सरकारले गरेका केही ठेक्काहरुको विवरणसहित कमिशनको विषय समेटिएको बिवादास्पद समाचार सार्वजानिक गरेको थियो ।