Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेलुङ गाउँपालिकामा एउटै कुकुरले टोकेका दुई वालक र एक युवकले ज्यान गुमाए

चरिकोट – दोलखाको मेलुङ गाउँपालिकामा बौलाहा कुकुरले टोकेका ३ जनाको मृत्यु भएको छ । कुकुरले टोकेको करिव डेढ महिनापछि गाउँपालिका वडा नम्बर ६ का युवकको बुधवार विहान पाटन अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनपिप्ले गैरीगाउँका अन्दाजी ३१ वर्षिय युवक रामचन्द्र भण्डारी रहेका छन् । पछिल्लो समयमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकोमा रिफर गरी पाटन अस्पताल पुर्याईएको थियो । सोही कुकुरले टोकेका वडा नम्बर ५ र ६ का ८ र १४ वर्षिय वालकको यसअघि नै मृत्यु भैसकेको छ ।

गाउँपालिका स्वास्थ्य शाखाका अनुसार रेविजको लक्षण देखिएकाले कुकुरको टोकाईकै कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिराम चापागाईका अनुसार उनीहरु सहित वडा नम्बर ५, ६ र ७ का १० जना सर्बसाधरणलाई गत असार मसान्तमा बौलाहा कुकुरले टोकेको थियो । उनीहरुलाई तत्काल रेविज बिरुद्धको भ्याक्सिन लगाईएपनि ३ जनाको मृत्यु भएको हो ।

अन्यको अबस्था हाल सामान्य रहेको चापागाईले बताए । टोक्ने बौलाहा कुकुरलाई त्यही बेला मारिएको थियो । तीन जनाको मृत्यु भएपछि सोही कुकुरले टोकेका अन्यमापनि मानसिक त्रास बढेको स्थानीयले बताएका छन् । गाउँपालिका प्रवक्ता हिरा थोकरले कुकुरले टोकेपछि तत्काल रेविज बिरुद्धको भ्याक्सिन लगाईएपनि ३ जनाको मृत्यु हुनु अत्यन्तै दुखद भएको बताउँदै सबै कुकुरहरुमा रेविज बिरुद्धको भ्याक्सिन लगाउन आग्रह गरे ।

दोलखामा ३ आर्थिक वर्षको अवधिमा ६ सय भन्दा बढि सर्वसाधारणलाई कुकुरले टोकेको छ । प्राथमीक स्वास्थ्य केन्द्र चरिकोटको तथ्यांक अनुसार ३ आर्थिक वर्षको अवधिमा २ सय ४७ जना महिला र ३ सय ६४ जना पुरुषलाई कुकुरले टोकेको छ ।

रेविज विरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाईन्छ । कुकुरले टोकेपछि पहिलो पटक लगाएको तेस्रो दिन र त्यसपछि सातौं दिन गरी तीनपटकसम्म भ्याक्सिन लगाउनुपर्दछ । चिकित्सकहरुका अनुसार शतप्रतिशत प्राण घातक रोग रेबिजको लक्षण शरीरमा देखिएपछि उपचार सम्भव छैन ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update