चरिकोट - दोलखाको विगु गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गत भदौ ७ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएकोमा २ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार विगु गाउँपालिकाबाट २४ जनाको स्वाब पठाईएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत भिम थामीका अनुसार कोरोना पुष्टी हुनेमा एक जना शिक्षक र एक जना डाईभर छन् ।
शिक्षक दरबन्दी मिलानको शिलशिलामा सर्लाहीबाट गाउँपालिका आएको बताईएको छ । उनी सर्लाहीबाट आएर क्वारेन्टाईनमा बसेका थिए ।
शिक्षक तराईबाट आएकाले उतै संक्रमण भएको आशंका गरिएको छ । ड्राईभरलाई कसरी संक्रमण भयो भन्नेबारेमा एकिन हुन सकेको छैन । यद्यपी उनी गौरीशंकर गाउँपालिकामा गएको बाढीपहिरोका बेला मानिसहरु ओसार्ने काम गरेको बुझिएको छ ।
विगु गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । योसँगै दोलखाबाट पठाईएका स्वाब संकलन गरी पठाईएका मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ६ जना कोरोना जितेर घर फर्किसकेका छन् ।