Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अबरुद्ध सकड सुचारु नहुँदा गौरीशंकरका स्थानीय मारमा

-किशोर कुमार गुरुङ

गौरीशंकर – गत श्रावण २२ गते भारी बर्षासँगै आएको बाढीका कारण अवरुद्ध सडक सुचारु नहुँदा गौरीशंकर गाउँपालिकाका सर्वसाधरण मारमा परेका छन् । अवरुद्ध सडक सुचारु नहुँदा विरामी, गर्भवती तथा सुत्केरी महिला, अशक्त, बृद्धबृद्धा बढी समस्यामा परेका हुन् ।

सडक अवरुद्ध रहँदा समयमै अस्पताल पुर्याउन नसक्दा चंखुका एक विरामी महिलाले ज्यान समेत गुमाउनु परेको स्थानीयले बताएका छन् । उनको उपचारका लागि बोकेर लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको थियो । कोरोना भाईरस् (कोभिड १९) ले महामारीको रुप लियो भने सडककै कारण ठुलो क्षति व्यहोर्नुपर्ने अवस्था आउनसक्ने स्थानीयबासीको चिन्ता छ ।

गौरीशंकर गाउपालिका वडा नम्बर ५ सुरीको भोर्ले देखि वडा नम्बर ६ चंखुको गुरुम्फीसम्मको ग्रामीण सडकमा वाढी र पहिरोले क्षति पुर्याएर अवरुद्ध बनाएको हो । स्थानीय तहले सडक मर्मत गरी सुचारु गर्न कुनै चासो नदेखाएउँदा सर्वसाधरणले दिनहु दुःख व्यहोर्नुपरेको स्थानीय विनोद गुरुङले वताए । सडक मर्मतका लागि वडा तथा गाउँपालिकालाई पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको उनको गुनासो छ ।

स्थानीयका अनुसार पैदल यात्रा गर्ने वैकल्पिक बाटो समेत नहुँदा घन्टौ लगाएर घुमाउरो बाटो प्रयोग गरेर खाद्यन्न लगायतका सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । जसका कारण खारे, मार्बु, चंखु र सुरीको केहि क्षेत्रमा खाद्यन्न लगायत दैनिक उपभोग्य सामान अभाव हुन थालेको बताईएको छ ।

यस क्षेत्रमा जिल्लाकै सवैभन्दा बढी जलविद्यूत आयोजनाहरु निर्माणाधिन छन् । तर उनीहरुले पनि सडक सुचारु गर्नेतर्फ ध्यान दिएका छैनन् । बाढी र पहिरोले भोर्ले, देउराली, सुरीदोभान हुदै गुरुम्फीसम्मको वाटो पुर्णरुपमा क्षतिग्रस्त छ । यस विषयमा स्थानीय जनप्रतिनिधिहरुले भने वर्षा जारी रहेकाले तत्काल सडक मर्मतको सम्भावना नरहेको भन्दै टार्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update