चरिकोट – दोलखा सदरमुकाम चरिकोट स्थित एक गैर सरकारी संस्थामा कार्यरत संक्रमित युवतीको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ घर भएकी युवतीको सम्पर्कमा पुगेका परिवारका सदस्य लगायतको रिपोर्ट नेगेटिभ आएको हो ।
चितवनमा भएको एउटा तालिममा सहभागि भएर जिल्ला फर्किएपछि उनी सदरमुकाम चरिकोट बसेर परिवारको प्रत्यक्ष सम्पर्कमा पुगेकी थिईन् । संक्रमणको आशंकामा ती युवती सहित उनको क्लोज कन्ट्याक्टमा पुगेका परिवारका सदस्य लगायतको स्वाब संकलन गरी पठाईएको थियो ।
तर पीसीआर परीक्षण रिपोर्ट भने उनको मात्रै पोजेटिभ आएको छ । उनीसँगै दैनिक सम्पर्कमा रहेका आमा र दिदीको रिपोर्ट भने नेगेटिभ रहेको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले बताए । ती युवतीलाई चरिकोट देखि घरसम्म पुर्याउने मोटरसाईकल चालकको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको बुझिएको छ ।
उनको सम्पर्कमा पुगेका अन्य व्यक्तिहरुको सोमवार कन्ट्याक्ट टे«सिङका आधारमा स्वाब संकलन गरी पठाउने तयारी छ । हाल होम क्वारेन्टाईनमा रहेकी संक्रमित युवतीलाई स्थानीय स्तरमै आईसोलेसन व्यवस्थापन गरी राखिने गाउँपालिकाले जनाएको छ । उनीसँगै चितवन तालिम पुगेर फर्किएका अन्य ३ जनाको रिपोर्ट पोजेटिभ आईसकेको छ ।