Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालमा कोरोना बिरुद्धको तीन खोप परीक्षण गर्ने तयारी

काठमाण्डौं - विश्वका तीन प्रतिष्ठित खोप उत्पादक कम्पनीले उत्पादन गरेको कोरोना भाईरस विरुद्धको खोप नेपालमा परीक्षण गर्ने प्रक्रिया अघि बढाईएको छ । नेपालमा तेस्रो चरणको खोप परीक्षणको तयारी गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जानकारी दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको तयारी भैरहेको छ ।

परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवालीले हङ सीले चिनियाँ कम्पनीमा कार्यरत एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको र उसको प्रस्तावमा सम्भाब्यता र स्वास्थ्य प्रोटोकलबारे परिषद्ले अध्ययन गरिरहेको जानकारी दिए ।

खोप विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने प्रावधान छ । परिषदका अनुसार रुसी खोप उत्पादकले समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष खोप परीक्षणको प्रस्ताव गरेको छ ।

खोपको क्लिनिकल ट्रायलका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेनेलिया पनि इच्छा देखाएको परिषदको भनाई छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्ने जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पाएको छ ।
हालसम्म चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्सको सिनोफार्म, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका र रुसको गेमेलिया नेशनल सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजि कोरोना विरुद्धको खोप उत्पादनमा अगाडी देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने खोप खरीद सम्बन्धी प्रकृया बारेमा मन्त्रालयले आधिकारिक धारणा सार्वजानिक गरिसकेको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update