Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कागेश्वरी मनोहरामा कोरोना समुदायस्तरमै फैलिँदै, संक्रमितसँगै दर खाएका ३० जनाको परीक्षण गरिँदै

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै उनको प्रत्यक्ष सम्पर्कमा ३० जना भन्दा बढी पुगेको पाईएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ७ सयपत्री टोलकी ३० वर्षीया महिलाले आयोजना गरेको दरखाने कार्यक्रमबाट संक्रमण फैलिएको देखिएको छ । उनले भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम आयोजना गरेकी थिईन् ।

उक्त कार्यक्रममा ३० भन्दा बढी महिला सहभागि भएका थिए । स्थानीय स्वास्थ्य संस्थाले गरेको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनको क्लोज कन्ट्याक्टमा झण्डै ३० जना रहेका देखिएको छ । उनीहरुलाई स्वाब संकलनका लागि सोमवार बोलाइएको छ ।

संक्रमित महिलाको प्रत्यक्ष सम्पर्कमा ३० जना महिलाहरु पुगेको देखिएपछि नगरपालिकाले वडा नं ९ को केही क्षेत्र सिल गरिएको छ । ९ नं वडामा पर्ने खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल गरिएको हो । कागेश्वरी मनोहरा नगरपालिकामा ८२ जना कोरोना संक्रमित भेटिएकोमा हालसम्म वडा नं ९ मा मात्रै ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुल ८२ जना कोरोना संक्रमितमध्ये ७५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिसकिएको छ । आइतबार मात्रै वडा नं ५ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update