-राम कार्की ‘पार्थ’
काठमाडौँ — विचार जबसम्म केवल विचार रहन्छ,
अस्पष्ट रहन्छ प्रशंसनीय रहन्छ,
आपत्तिले टाउको उठाइहाल्छ
जब योजनामा ढल्न थाल्छ विचार
–बर्तोल्त ब्रेख्त
घण्टैपिच्छे अद्यावधिक हुने समाचारहरूमा तातो खबर बनेर सदाबहार छाइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको घम्साघम्सी निजी स्वार्थहरूमा आबद्ध गुटहरूबीचको फगत सिङजुधाइ हो कि यो ताउरमाउरको अन्तर्यमा कहीँकतै वैचारिक तत्त्वहरू पनि विद्यमान छन् ? यो निक्र्योल गर्न आन्दोलनमा संलग्नहरूलाई समेत हम्मे परिरहेको अवस्थामा साथी घनश्याम भुसालको ‘नेकपा ः बाँच्नका लागि एक मात्र बाटो’ शीर्षक लेख प्रकाशित भएको छ ।
यो लेखको प्रकाशनपछि जुन शिविरहरूमा जुन तहको चर्चा र छलफल सुरु हुनुपर्ने थियो, त्यसका लागि अझै केही समय पर्खनुपर्ने देखिन्छ । यसमा सहभागी बन्नैपर्ने निश्चित साथीहरूबाट समेत अझै प्रतिक्रियाहरू बाहिर आएका छैनन् । आन्तरिक र वैश्विक वर्गसंघर्षमा स्पष्टतः उत्पीडितहरूको वैरी कित्तामा उभिएका वा वर्गसंघर्षको सच्चाइ र गुरुत्वबाट मुन्टो फर्काएर नवउदारवादी पुँजीवादले उकेरा हालिरहेको नस्लवादतर्फ भासिएका केही अध्ययनशील लेखकहरूले भने साथी घनश्यामको लेखमाथि आफ्नो जीवन, दर्शन र बुझाइअनुकूल छिपछिपे टिप्पणीहरू गरेका छन् । यसबाहेक पनि केही युवा साथीहरूले सकारात्मक टिप्पणी गरेका छन् ।
एउटा राजनीतिक पार्टीका रूपमा बाँचिरहन नेकपाभित्र सैद्धान्तिक–वैचारिक कचिंगल (वाङलिङ) भइरहनु जरुरी छ । मजदुर, किसानसहित अन्य श्रमजीवी वर्गका पक्षमा डटिरहन तथा मानवज ीवनकै कलंकका रूपमा सयकडौं वर्षदेखि चल्दै आएको छुत–अछुत, तागाधारी–मतवालीजस्ता जातप्रथा र महिला उत्पीडनलाई निर्मूल पार्न भने नेकपाले समाजवादी सिद्धान्त आदर्श र आचरणलाई पार्टी जीवनको अनिवार्य सर्त बनाउनुपर्छ ।
साथी घनश्यामले हामी सबैको अपेक्षाअनुरूप वैचारिक वाक्कलहका निम्ति शंखघोष गरेका छन् । साथी घनश्यामका साथै प्रदीप ज्ञवाली, योगेश भट्टराई, वर्षमान पुन, शंकर पोखरेल, जनार्दन शर्मा, मणि थापा आदि उनका दाँवलहरू केवल समाजवादको वैचारिक मात्र होइन, ठोस राजनीतिक मुद्दाहरूमा समेत प्रवेश गरून् भन्ने उद्देश्यले मैले लेखको सुरुमा बर्तोल्त ब्रेख्तलाई उद्धृत गरेको हुँ । अझ प्रस्ट भन्दा ‘नेकपा ः बाँच्नका लागि एक मात्र बाटो’ प्रकाशित भएकै दिन मैले ब्रेख्तको यो भनाइ सम्झिन पुगें, तर मैले कहाँ पढेको हुँ भन्ने याद भएन । त्यसैले अध्ययनमा गहिरो अभिरुचि भएका भारतीय साथी सत्यम वर्मासँग सम्पर्क साधें र आवश्यक जानकारी प्राप्त गरें ।
अहिले यो लेख लेखिरहँदा भने मेरो सम्झनाको पटलमा रामकुमारी झाँक्री, सुदन किराँती, ठाकुर गैह्रे, देवी खड्का, राजु खड्काहरू मात्र होइन, कलेजहरू विशेषतः नेपाल ल कलेजमा पढ्ने तथा पर्यावरण आन्दोलनमा काम गर्न विभिन्न क्याम्पसहरूबाट एकसाथ जुटेका फुच्चे–फुचुङ्ग्रीहरूसमेत नाचिरहेका छन् । यिनीहरूले महान् रचनाकार ब्रेख्तको भनाइको मर्मलाई आत्मसात् गरेर आफ्नो सक्रियता देखाइदिए भने समाजवादको यात्रामा अघि बढ्नबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई दुनियाँको कुनै शक्तिले रोक्न सक्नेछैन । यो मामिलामा साथी घनश्यामको लेख यसकारण समयानुकूल, सान्दर्भिक र प्रशंसनीय छ कि, यसले प्रहेलिका बनेको अहिलेको अमर्यादित दन्तबझानबाट माथि उठेर वैचारिक संघर्षको धरातल टेक्न हामी सबैलाई आह्वान गर्छ ।
समकालीन नेपाली कम्युनिस्ट आन्दोलनका धेरै नेताले नाम लिन लजाउने, हच्किने र डराउने तर समाजवादको बाटामा अघि बढ्नासाथ जम्काभेट भइहाल्ने भरोसायोग्य पथप्रदर्शक माओ त्सेतुङले युगोस्लाभ प्रतिनिधिमण्डलसमक्ष प्रकट गरेको यो भनाइ मननयोग्य छ ः ‘कम्युनिस्ट पार्टीहरू वाक्कलह गर्दैनन् भनेर हामी कदापि ढाँट्दैनौं । रडाको नमच्चिने ठाउँ दुनियाँमा कहीँ हुन्छ र ? माक्र्सवाद भनेकै कचिंगलवाद (वाङलिंगिजम) हो । यो अन्तरविरोध हो र संघर्ष हो । अन्तरविरोधले संघर्षतर्फ डोर्याइहाल्छ ।’ महान् माओ त्सेतुङसँग साथी घनश्यामको र हामीमध्ये कसैको पनि मतभेद हुन सक्छ । तर उनका यहाँ उद्धरित भनाइहरू सत्य छन्, माक्र्सवादसम्मत छन् र बाटो पहिल्याउन नसकेर अलमलिएका कम्युनिस्टहरूका निम्ति सहयोगी छन् ।
अन्तरविरोध र परिवर्तन सर्वव्यापी र स्थायी हुन्छन् । सिद्धार्थ गौतमले यही भने, माक्र्सले यही नियमलाई बुझे, व्याख्या गरे र परिवर्तनलाई मानवहितमा अघि बढाउने चेष्टा गरे । बुद्धको पनि नियत माक्र्सकै जस्तै थियो । उनी परिवर्तन स्थायी छ भन्ने निष्कर्ष मात्र लिएर अघि बढे । माक्र्स परिवर्तनका कारणहरू पहिचान गर्दै संसार फेर्ने अभियानमा जुटे । जुनसुकै स्तरको, काँटको भए पनि नेकपाभित्र अन्तरविरोध छ ।
प्रणामीलगायत विभिन्न धर्म र मठका अनुयायीदेखि नास्तिकसम्म अटाउने त केन्द्रीय कमिटी नै छ । साधुसन्तदेखि आवारा, निठल्ला, चोर, ठग सबै अटाउने यो पार्टीमा आर्थिक रूपमा सर्वहारा सुकुम्बासीदेखि खर्बपति व्यापारीसम्म टन्न अटाएका छन् । जुन पार्टीका अध्यक्ष नै पौराणिक कथा र इतिहासको भेदलाई छुट्याउँदैनन्, त्यस्तो पार्टीको शिखरपंक्तिमा बहुरंगी मान्छेहरू छन् भनेर उदेक मान्नु बेवकुफ साबित हुनु हो । यस्तो भीडमा नानाभाँतिका मत र सम्प्रदायहरू रहनु स्वाभाविकै हो । ‘अन्तरविरोध फेरिन्छ तर समाप्त हुन्न’ भन्ने माक्र्सवाद बुझेका साथी घनश्यामले यो अन्तरविरोधको गन्जागोलबाट प्रमुख अन्तरविरोधका रूपमा वैचारिक–राजनीतिक मतान्तरलाई सबैले बुझ्ने र देखिने गरी सतहमा ल्याउने र तीव्र पार्ने अभिप्रायसाथ लेखेको लेखमा वर्गसंघर्षमा विश्वास गर्ने सबैका निम्ति वैचारिक हाँक दृष्टिगोचर हुन्छ । मेरो रायमा साथी घनश्यामको लेखको केन्द्रीय सार यही नै हो ।
अब म सोझै पाठकहरूतर्फ फर्कन्छु । महाभारत कथामा दुर्योधनले पठाएको कोमल ओछ्यान अस्वीकार गरेर घायल भीष्मले अर्जुनको शरशय्या रोज्नुलाई वीरताको प्रतीक, वीरहरूको चलन भनिन्छ । हामी कम्युनिस्टहरूको पनि आफ्नै विशिष्ट चलन चल्तीमा छ । माक्र्सवादको सबभन्दा धेरै र गहिरो अध्ययन गरेका प्लेखानोभ, कार्ल काउत्स्की, रोजा लक्जमवर्गभन्दा लेनिनलाई माक्र्सको सच्चा उत्तराधिकारी मानिएको छ । हामीजस्ता सामान्यजनले पढ्दा पनि प्रस्ट थाहा हुन्छ कि, माक्र्सलाई सबभन्दा पढेको र बुझेको त रोजा लक्जमवर्गले हो । यहाँसम्म कि, माक्र्सका कमजोरीहरूसमेत रोजामा सरेका छन् । तर माक्र्सका कतिपय प्रस्तावनाको ठाडो संशोधन गर्ने लेनिन नै सच्चा उत्तराधिकारी दरिए भने अन्य प्रतिभाशाली माक्र्सवादीहरू माक्र्सका अनुयायी मात्र । समकालीन कमरेडहरूका बीचमा पनि एकअर्काको सोच र रचनाको पक्षपोषण गर्नु भनेको तिनमा पाइने कमजोरीहरू औंल्याउनु, तिनमा रहेका रिक्तताहरूलाई भरिदिनु र निवर्गीय अडानहरूलाई खारेज गर्नु नै हो । यो नै माक्र्सवाद हो ।
मेरो बुझाइमा विचारलाई पुष्ट पार्न ह्वारह्वार्ती शब्द वर्षाउने साथी घनश्यामको कलम राजनीति र तत्कालको राजनीतिक मुद्दामा पुगेपछि शिथिल बन्दै जान्छ । उपर्युक्त लेखमा पनि अहिले ठोस रूपमा गर्नुपर्ने कुरालाई लेखको पुछारमा केवल चार हरफमा र त्यो पनि सकेसम्म सामान्यकृत तुल्याएर बुझो लगाइएको छ । समर्थक जनता र कार्यकर्तासमेतको भावनाको कदर गर्दै एकताको घोषणा गर्ने अधिकार दुई अध्यक्षहरूलाई सुम्पिएकामा दुई अध्यक्षले साम्यवादसम्म पुग्ने वा सर्वनाशसम्म लैजाने प्राधिकार नै हामीमा निहित छ भन्ने ठान्न थालेको असाध्य रोगको उपचार के हो ?
‘दुई अध्यक्षहरूले उपभोग गरिरहेको सर्वाधिकार उप्रान्त कमिटीमा फिर्ता आएको छ’ भन्ने निर्णय गर्न स्थायी कमिटीका कराँतिला कमरेडहरूलाई केले रोकिराखेको छ ? दुर्भाग्य, आज हामीसँग उच्चस्तरमा कमिटीका नाममा त्यही एक मात्र स्थायी कमिटी छ । केन्द्रीय कमिटीलाई जात्रामा फेरिएको छ । सचिवालय खोपी साबित भएको छ । आजै र अहिले अविलम्ब गर्नुपर्ने यो निर्णय नगरेर स्थायी कमिटी यसै बीबी प्रवृत्ति ९दिल्लीमा एक जना मजदुर नेता थिए । जुन कारखानामा मजदुर समस्या उत्पन्न भएको छ त्यसका प्रबन्धकहरूबाहेक बाँकी साम्राज्यवाद, क्षेत्रीय प्रभुत्ववाद, विस्तारवाद, सामन्तवाद आदिलाई सकेसम्म निन्दा गरेर उनको भाषण सकिन्थ्यो । यसलाई त्यति बेला बीबी प्रवृत्ति भनिन्थ्यो, मा बरालिएको छ ।
नेताविशेषमा रहेको अवाञ्छनीय अधिकार कमिटीमा आएर वाञ्छनीय बन्नासाथ एउटा नयाँ क्षितिज त उघ्रन्छ नै, उपरान्त स्थायी कमिटीले पुँजीवादी बाटामै अविचल यात्रा गर्ने कि त्यो बाटोसँग सम्बन्ध विच्छेद गरेर समाजवादी बाटोको नयाँ यात्रा सुरु गर्ने भन्ने वैचारिक राजनीतिक मुद्दालाई छलफलको केन्द्रमा ल्याउनु जरुरी छ । त्यसले हाम्रा वरिष्ठ नेताहरूलाई पनि सन्तोष नै प्रदान गर्ला । यो काममा अब पटक्कै ढिलाइ गर्न हुन्न । अन्यथा पार्टीभित्रका एक थरीको हालत चोङकिङ मोडलका पक्षधरहरूको जस्तो हुनेछ । हाम्रा वेन जियाबाओहरूको तागतको धरातल अत्यन्त कमजोर रहेकाले अर्को पक्ष पश्चिम बंगालको वर्तमान सीपीआईएमको हालतमा पुग्ने पक्कापक्की छ । यो दुर्घटनाबाट आन्दोलनलाई जोगाउने आँट कसै न कसैले त गर्नैपर्छ ।
विधि छ, सबै थोक छ, नेताप्रधान पार्टीको जय होस्
‘नेकपासँग सबै थोक छ तर विधि छैन र बित्यास परेको छ’ भन्ने तर्कलाई साथी घनश्यामले जोडतोडका साथ उठाएका छन् । जुनकुनै बेला र जुनसुकै अवस्थामा पार्टीको सिद्धान्त, कार्यदिशा र कार्यक्रमले माग गर्ने विधि नै पार्टीमा प्रचलित हुने गर्छ । संसदीय राजनीति हावी भएका दक्षिण एसियाका मुलुकहरूमा सक्रिय सबै ‘लोकतन्त्रवादी’ पार्टीहरूमा नेताप्रधान प्रणाली कायम छ र त्यो धानिएकै छ । ‘नेता म छँदै छु, धमाधम तपाईंहरू जम्मा भएर विकल्पको राजनीति (यथार्थमा राजनीतिको विकल्प पार्टी गठन) गरौं’ भन्ने नेपालमा चलेको चलन पनि नेपालमा मात्रै नयाँ हो ।
नेकपाका सबै संघटक संसदीय राजनीतिमा पूर्णतः निमज्जित भइसकेकाले नेताप्रधान गुटहरूको सँगालो बन्न यसलाई कमरेड पुष्पलालको ‘नेता होइन, नीतिप्रधान’ ले कसरी छेक्थ्यो र ? गुटहरूमा नेताहरूको वर्चस्व भने सम्बन्धित गुटले पुँजीवादलाई कुन हदसम्म अंगीकार गरेको छ भन्ने मात्राले तय गर्दै छ । पुँजीवाद आफ्नो नवउदारवादी अवतारमा अत्यन्त असहिष्णु बनेको छ । विभिन्न पुँजीवादी गुटहरूबीच चुनाववरिपरि आयोजित हुने लुकामारी खेल (स्वच्छ प्रतिस्पर्धा) खेलिने अवस्था पनि अब बाँकी रहेन । आफ्नै वर्गको फरक गतिविधिलाई समेत सहन गर्ने क्षमता पुँजीवादले गुमाएको छ । हामीकहाँ त्यही परिलक्षित हुनु नौलो कुरा भएन । नेताप्रधान संसद्वादी राजनीतिलाई आवश्यक पर्ने विधिमै यो पार्टीलाई हाँक्न शीर्षस्थ नेताहरूले लागे–पुगेसम्म गरेकै छन् । हामीले किन टाउको दुखाउनुपर्यो र ?
पुँजीवादको वाष्पकक्षजडित स्विमिङ पुलमा डुबुल्की लगाइरहेको नेकपालाई राजनीतिक सनासोले समातेर समाजवादको अहिले केही मत्थर तर केही समयमै उर्लने सम्भावनायुक्त नदीमा नचोबलेसम्म विधि फेरिनेवाला छैन । मेरो यो मतलाई भूल धारणा साबित गर्न स्थायी कमिटीका कमरेडहरूसँग विशेष अनुरोध गर्दै म भने साथी घनश्यामको लेखमै फर्कन्छु । तत्कालीन एमालेको नवौं महाधिवेशन र तत्कालीन माओवादीको हेटौंडा महाधिवेशनले लिएका निर्णयलाई साथीले अगाडि बढेको अर्थमा बुझेको देखिन्छ । एमाले महाधिवेशनको ‘आँखों देखी’ रिपोर्ट मसँग छैन, तर हेटौंडा महाधिवेशनमा हलका सहभागीहरूले ब्यारेकमा गएको पैसाको हिसाब देऊ भनेर क्रन्दन गरिरहेको र मञ्चमा हुनेहरू एकपटक जोडको ताली बजाउन लगाएर बिदा हुने हतारमा रहेको दृश्य आज पनि मेरो मानसपटलमा ताजा छ ।
‘नेपाली समाज अर्धसामन्ती रहेन’ भन्ने एमालेको खुला र स्पष्ट निष्कर्ष एवं माओवादीको सावधानीसहितको मसिनो स्वरको घोषणाले निश्चय नै माक्र्सवादमा आधारित नयाँ कार्यदिशाको माग गर्दथ्यो । करिब यस्तै निष्कर्षमा त प्राध्यापक चैतन्य मिश्रजस्ता फेबियन समाजवाद, मुक्तिकामी समाजवाद आदिका नेपाली प्रतिनिधिहरू पनि पुगेका थिए । उनीहरूका निम्ति यो वर्गसंघर्षको अन्त्य थियो । हाम्रै नेताहरूमा समेत अब उकालो सकिएर समतलको यात्रा सुरु भएको गुमान थियो । यथार्थमा महाधिवेशनहरूका यी निर्णयहरूले आन्दोलन अत्यन्त जटिल र कठिन मोडमा पुगेको संकेत गर्थे । अब हाम्रो सामना दुनियाँभरि पराजित हुँदै गएको सामन्तवादसँग होइन, बरु विश्वविजयको उन्मादमा रहेको पुँजीवादसँग सीधा हुनेवाला थियो । पीडाका साथ भन्नुपर्छ, हाम्रा नेताहरू आफैंले लेखेको लिखत र गरेको निर्णयप्रति गम्भीर थिएनन् । हामीले पनि उनीहरूलाई ठीक बाटोमा हिँडाउने बुता जुटाउन सकेनौं ।
समाजवादको ब्लुप्रिन्ट कि संघर्षमा प्रतिबद्धता ?
सोझै पुँजीवादसँग लड्ने अखडामा प्रवेश गरेपछि हाम्रो पहिलो दायित्व हुन्थ्यो मायावी पुँजीवादले धारण गरेको हालको रूपलाई चिन्नु, यसका चरित्र र लक्षणहरूको अध्ययन गर्ने काममा सिंगो पंक्ति सामेल हुनु । सँगसँगै यसलाई प्रतिस्थापन गर्ने संस्था, विधि, प्रणाली र आचरणको निर्माण गर्नु हाम्रो प्रमुख कार्यभार बन्नुपथ्र्यो । हामीले त संसदीय निर्वाचनलाई नै मनचिन्ते झोली बनाइदियौं । पार्टीको शरीरवरिपरि उम्रिएका आईएनजीओ भन्ने धमिराले सामाजिक र सामुदायिक संगठनहरूलाई ध्वस्त पार्दै गइरहेका थिए । हामीले राजनीतिक रूपमै वर्गसंघर्षलाई चुनावको किलामा लगेर बाँधिदिई समाजवादको बाटो ‘प्रशस्त’ गरिदियौं ।
काल्पनिक समाजवादीहरू र माक्र्स–एंगेल्समा पाइने एउटा नितान्त फरक सोचप्रति हाम्रो ध्यान जानु जरुरी छ । काल्पनिक समाजवादीहरूमध्ये अधिकांश नेता त्याग, बलिदान आदिमा माक्र्स–एंगेल्स जस्तै अब्बल थिए । उनीहरूले समाजवादको सुन्दर खाका (ब्लुप्रिन्ट) समेत तयार पारेका थिए तर माक्र्स भने सर्वहारावर्गको नेतृत्वमा हुने अविराम संघर्षले समस्याका गाँठाहरू खुल्दै जाने सम्भावनाका नयाँ क्षितिज उघ्रिँदै जानेमा ढुक्क थिए ।
माक्र्सवादी विचार, दृष्टि र ज्यावलहरूको सहयोगमा समाजको अध्ययन गर्ने, सबै स्तरका कार्यकर्ता र समर्थक जनतासमेतलाई छलफलमा सहभागी गराएर मुद्दा निश्चित गर्ने परिपाटीले हामीलाई साँच्चिकै जनवादी हुन मद्दत गर्नेछ । नेकपाको आगामी राजनीतिक, आर्थिक, सांस्कृतिक कार्यदिशा तय गर्न आयोजित महाविवादमा साथी घनश्यामले उल्लेख गरेको आठौं महाधिवेशनको दस्तावेज पनि अवश्य नै सन्दर्भसामग्री बन्नेछ । नेपालको आगामी विकास रणनीति तय गर्दा पनि पार्टीहरूको महत्त्वपूर्ण भूमिका हुनेछ । पुँजीवादी तुलोमा आर्थिक वृद्धि तौलने परिपाटीलाई छाडेर खटिखाने वर्गको भौतिक आवश्यकता पूर्ति गर्नुसँगै यो वर्गलाई सम्भव हदसम्म पूर्ण मानव बनाउने उद्देश्यका अधीन हाम्रो विकास रणनीति अगाडि बढाउनुपर्दछ ।
सामुदायिक, शैक्षिक, सांस्कृतिक, लैंगिक, वातावरणीय लगायतका संस्थाहरूमा कार्यकर्तालाई प्रवेश गराएर तिनको आफ्नो पक्षमा लड्ने जैविक क्षमतालाई नष्ट गर्ने कार्य रोकिनुपर्छ । मजदुर, विद्यार्थी, महिला, किसान आदि जनवर्गले आफ्ना मुद्दाहरू आफैं निश्चित गर्ने स्वायत्तता उपयोग गर्ने वातावरण बन्नु भनेको वर्गसंघर्षलाई चाहिने खाद्य सुरक्षा नै हो । जनवर्गहरूले आफ्ना मागहरूको पक्षमा निरन्तर संघर्ष गरून् । ती संघर्षका क्रममा आउने बाधाहरूसँग जुझ्न पार्टीले राजनीतिक तागत पेस गरोस् । पार्टी अर्थात् कार्यकर्तालाई अनुहारविहीन मतदाता हुनबाट जोगाउने एक मात्र उपाय भनेको मुक्तिको आन्दोलनमा उसको अग्रगामी भूमिका नै हो ।
अन्त्यमा, साथी घनश्याम भुसालले द्वापर युगको अन्त्य अन्तर्कलहबाट हुन गएको छनक आफ्नो लेखमा दिएका छन् । यसलाई पुष्ट पार्दै महाभारतबाटै प्राप्त हुने एउटा उपयोगी शिक्षालाई यहाँ उल्लेख गरेर लेखको अन्त्य गर्न चाहन्छु । बाबु खलकको उक्साहटमा आचार्य द्रोणजस्ता सैन्य रणनीतिज्ञले तयार पारेका व्यूहभित्र फस्न जाने बहादुर तर सोझा अभिमन्यु तथा त्यस्तै उक्साहटमा बहकिएर महावीर कर्णलाई जिस्क्याउन जाने अद्वितीय पराक्रमी घटोत्कचका कारण द्वापर युग वा कृष्णको वर्चस्व समाप्त भएको होइन । जाली कृष्णको आडमा आफूभन्दा धेरै शक्तिशाली योद्धाहरूलाई ढालेर आफूलाई दिग्विजयी ठान्ने अभिमानी अर्जुनद्वारा रक्षित अश्वमेधको घोडा समाउने बभ्रुवाहनको साहसले मात्र कृष्णको युगलाई वास्तविक चुनौती दियो । आफ्नै पुत्र बभ्रुवाहनसँगको युद्धमा अर्जुन कोमामा पुगेपछि नै नयाँ युगको डाक सुनिन थालेको हो । विभिन्न शिविर चलाएर बसेका अग्रजहरूको उक्साहटमा उत्ताउला हर्कतहरू गर्ने परिपाटी त्यागेर बभ्रुवाहन बन्ने साहस तरुण पुस्ताले जुटाउनेछ भन्ने विश्वास छ ।
-ईकान्तिपुरबाट