काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्म करिब १२ अर्ब खर्च गरेको छ । सरकारले साउन मसान्तसम्म ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले गत चैतदेखि साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ बराबरको खर्च गरेको जानकारी दिए ।
उनका अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको छ ।
प्रदेशहरूले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च गरेकोमा प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।
गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा खर्च भएको सरकारी तथ्यांक छ ।
मन्त्री खतिवडाले स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको जानकारी दिए । उक्त सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टाइन व्यस्थापनमा खर्च भएको सरकारले जनाएको छ ।
हेर्नुहोस् खर्चको पूर्ण विवरणः