चरिकोट - दोलखाबाट स्वाब संकलन गरी पठाईएको मध्ये थप ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भदौं २ गते गौरीशंकर गाउँपालिकाबाट पठाईएका १ सय ४१ जनामध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
जसमा दुई जना पुरुष र दुई जना महिला रहेका छन् । चारै जना संक्रमित गौरीशंकर गाउँपालिका वडा नम्बर ५ स्थित सुरीका हुन् । संक्रमित मध्ये एक जना पुरुषमा ज्वरो आउने सहितको लक्षण देखिएको छ ।
उनलाई उपचारका लागि एम्बुलेन्समार्फत सदरमुकाम चरिकोतर्फ ल्याईदैछ । संक्रमित मध्ये एक जना १३ बर्षका बालक हुन् । स्थानीय स्वास्थ्यकर्मीको अनुसार अन्यमा भने कुनै लक्षण देखिएको छैन । यसअघि कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ ।
जिल्लाबाट जम्मा ३ सय ३० जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाईएकोमा अन्यको रिपोर्ट आउन बाँकी छ ।
यसअघि गौरीशंकर गाउँपालिकामै एक जना स्वास्थ्यकर्मी र एक जना विदेशबाट आएका व्यक्तिमा संक्रमण पुष्टी भएपछि उनीहरुको सम्पर्कमा पुगेका थप ५ जनामा पनि संक्रमण पुष्टि भएको थियो । जिल्लाको ९ स्थानीय तहमध्ये गौरीशंकर गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढि देखिएको छ ।