चरिकोट - कोरोनाको जोखिम बढेसँगै दोलखा जिल्लामा शनिवारदेखि पुन लकडाउन हुने भएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसगै जिल्ला विपत व्यवस्थापन समितिले शनिवारदेखि भदौ ६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक डबल पाण्डेका अनुसार जिल्लामा कोरोना संक्रमण दर बढेसँगै उत्पन्न जोखिम न्युनिकरण र रोकथामका लागि पुन लकडाउन गर्ने निर्णय गरिएको हो । लकडाउनको निर्णयसँगै भोली (शनिवार) देखि अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द हुने उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले शनिवारदेखि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयबाहेक सबै सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द हुने जानकारी दिए । सबै प्रकारका सवारी साधन संचालनमा रोक लगाउने, जिल्लाभरका बजार पसल पुर्णरुपमा बन्द गरिएपनि अत्यावश्यक वस्तु विक्रि गर्ने पसलहरु –खाद्यन्न, तरकारी र दुग्ध पदार्थ) विहान १० बजेसम्म खुल्ला राख्न दिईनेछ ।
सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि दोलखामा पनि बजार र आन्तरिक यातायात सुचारु भएको थियो । विपत व्यवस्थापन समितिले समुदाय स्तरमै कोरोना फैलिन थालेको भन्दै रोकथामका लागि लकडाउनलाई पुन कडाईपुर्वक कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
पछिल्लो पटक जिल्लाको गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा कोरोना संक्रमण समुदाय स्तरमै फैलिने जोखिम बढेको छ ।