Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपाभित्रको बिवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ — नेकपाभित्र चर्किएको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको हो ।

कार्यदलमा पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । पार्टी विवाद हल गर्ने गरी खाका बनाउने जिम्मा कार्यदललाई दिईएको बताईएको छ । दुई अध्यक्षबीच शुक्रवार भएको छलफलपछि कार्यदल बनाईएको हो ।

कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषयमा सहमतिको खाका बनाउने छ । दुई अध्यक्षको क्षेत्राधिकारसहित सरकारले गर्ने नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने र मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने गरी कार्यदलमा सहमति खाजिने छ ।

केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलमा छलफल हुनेछ ।
कार्यदलले सहमतिको प्रस्ताव तयार गरेपछि स्थायी कमिटी बैठक बस्नेछ । सोही बैठकबाट सहमति अनुमोदन गर्ने तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update