चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकाका एक जना व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का पुरुषमा संक्रमण देखिएको गाउँपालिका स्रोतले बतायो । उनी ८ दिन अघि सिक्किमबाट आएका थिए ।
उनको स्वाब यही साउन २७ गते परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो । जसको रिपोर्ट आज कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए ।
संक्रमित पुरुषलाई सदरमुकाम चरिकोट स्थित आईसोलेसनमा राख्ने तयारी छ । सिंगटी आईसोलेसनमा राख्ने भनिएपनि दक्ष चिकित्सक नभएपछि चरिकोट स्थित आईसोलेसनमा राख्न लागिएको हो ।
मंगलबार मात्रै जिल्लाको गौरीशंकर गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित दोलखा जिल्लामा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएका ६ जनामा संक्रमण पुष्टी भैसकेको छ ।