काठमाण्डौं - सरकारले देशप्यापी रुपमा लकडाउन नगर्ने भएको छ । कोरोना भाइरस संक्रमण दर बढिरहेपनि देशभरी लकडाउन नगर्ने निकर्षमा केन्द्र सरकार पुगेको हो । सरकारको निर्णय सार्वजानिक गर्दै अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले पुरानै मोडेलमा लकडाउन थप गर्ने योजनामा सरकार नरहेको बताए ।
खतिवडाका अनुसार दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्नेछन् । दुई सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लाका मानिसलाई आवतजावत गर्न दिइएको र कोरोना जोखिम देखिएको स्थानमा कडाइ गर्ने क्षेत्रगत नीति अपनाइएको उनले स्पष्ट पारे । व्यवसाय गर्न र मालसामान ढुवानीमा केन्द्र सरकारले रोक नलगाएको जानकारी पनि उनले दिए ।
दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकामा सरकारी तथा गैरसरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाले वर्क फर्म होम नियम अनुसार काम गर्नुपर्ने जनाईएको छ ।
उनका अनुसार होटल तथा रेष्टुरामा पकाएका परिकार लैजान दिने निर्णय भए पनि रेष्टुरा र होटलमा बस्न भने दिइने छैन । साउन १५ देखि होटल र रेष्टुरा खोल्न दिए पनि मास्क नलगाउने र स्वास्थ्य सुरक्षाको ख्याल नगरी अनावश्यक भीडभाड गरेकोले होटल र रेष्टुरामा बस्न नदिने नियम लागू गर्नु परेको उनले बताए ।
भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने यसअघिको घोषणा अब कार्यान्वयनमा नआउने भएको छ । भदौ १५ गतेसम्म विद्यार्थी भर्नाका कार्यक्रम रोकिएको सरकारले जनाएको छ । सीमा नाका भदौ ३१ गतेसम्म बन्द गरिएपनि जोखिममा रहेका नेपालीलाई स्वदेश ल्याउन १० वटा नाका खुला गरिनेछ ।