Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको उत्तरी क्षेत्रमा बाढीपहिरोको बितण्डा, १ जना बेपत्ता, दर्जनौं घर र जलविद्युत आयोजनामा क्षति

चरिकोट – दोलखाको उत्तरी क्षेत्रमा एक्कासी ठुलो वर्षातपछि नदी र आसपासका क्षेत्रमा आएको बाढी र पहिरोले बितण्डा मच्चाएको छ । गएराती अत्याधिक बर्षासँगै खोला तथा नदीहरुमा बढेको पानीको बहाव, भेलबाढीमा १ जना बेपत्ता भएका छन् भने दर्जनौ घरहरुमा क्षेति पुगेको छ ।

गौरीशंकर गाउँपालिकाको खारे स्थित टुईनटार बस्तीमा आएको पहिरोपछि १ जना बेपत्ता भएका छन्, भने केहीलाई घाईते अवस्थामा उद्धार गरिएको छ । बेपत्ताको पहिचान खुल्न सकेको छैन । त्यहाँ करिब आधा दर्जन घरमा पहिरोले क्षति पुगेको स्थानीयले जानकारी दिएका छन् । क्षतिको बिस्तृत बिवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी रुक्सा बज्राचार्यले घट्नास्थलमा प्रहरी टोली खटिएको र क्षतिको एकिन बिवरण संकलन गर्ने प्रयास भैरहेको जानकारी दिईन् ।

यसैगरी गौरीशंकर गाउँपालिकाकै सुरीखोलाको बहाव बढेर गुरुम्फीबस्तीमा पस्दा आधा दर्जन घरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार स्थानीय पेम्बा शेर्पा, तेन्जी शेर्पा, कृष्ण तामाङ, कुमार तामाङ, रबिन्द्र सुरेल, विर्ख बहादुर विक, रमेश खड्का र चेत बहादुर तामाङको गरी ८ घर क्षतिग्रस्त बनाएको छ । त्यहाँका ८ घरपरिवारका वालवालिकासहित ३७ जना विस्थापित भएको र उनीहरु आफन्तकोमा आश्रय लिएर बसेको छन् ।

यसैगरी तामाकोसी नदीमा बढेको पानीको बहावले विगु गाउँपालिका ४ स्थित नदी किनारका ५ वटा घरटहरामा क्षति पुगर्याएको छ । स्थानीय राजकुमार पाख्रिनको टहरा बगएको छ भने धन बहादुर तामाङ, बिरु तामाङ ईन्द्र बहादुर श्रेष्ठ र दिल बहादुर तामाङको टहरामा क्षति पुगेको छ ।

यस्तै भिमेश्वर नगरपालिका ५ स्थित तामाकोसी बजारका १५, वैतेश्वर गाउँपालिका वडा नम्बर ६, तामाकोसी नदी किनारका १३ गरी २८ घरपरवार रातभर सुरक्षित स्थानमा गएर बसेका छन् । नदीमा पानीको बहाव घटेपछि उनीहरु पुन आफ्नो घरमा बस्न थालेको प्रहरीले जनाएको छ ।
यसैबीच गोरीशंकर गाउँपालिका स्थित सिप्रिङखोला र खानीखोला जलविद्युत आयोजनामा पनि बाढीले ठुलो क्षति पुर्याएको छ ।

बिहिवार राती जिल्लाको उत्तरी क्षेत्रमा अत्याधिक बर्षा भएको थियो । सतर्कताको सतहभन्दा माथि नदीमा पानीको बहाव बढेपछि जल तथा मौसम पूर्वानुमान महाशाखा र स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update