काठमाडौँ — यो वर्ष एसईईको परीक्षाफल प्रकाशित हुन अझै समय लाग्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने भएको हो ।
बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहोर्याएर हेर्ने काम भइरहेको जानकारी दिए । बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलन गरिएको छ ।
लकडाउनका कारण त्रुटि सच्याउन तत्काल काठमाडौं आउन सक्ने अबस्था छैन, अहिलेसम्म विद्यालयसमेत खुल्ने वातावरण बनिसकेको छैन । त्यसैले नतिजा केही दिन ढिलो प्रकाशन गर्दा कुनै फरक पर्दैन, पौडेलले भने ।’
कोरोना महामारीका कारण परीक्षा हुन नसकेपछि यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिँदैछ । बोर्डका अधिकारीहरुका अनुसार विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि पुनः परीक्षण भइरहेको अधिकारीहरुले जनाएका छन् ।
एसईई दिने विद्यार्थीको संख्या ४ लाख ८२ हजार रहेकोमा विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो ।