काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको स्पष्ट पारेका छन् । नेकपाभित्र बिवाद नभई बहस चलिरहेको भन्दै उनले त्यसलाई पद प्राप्तिका लागि भनेर गलत प्रचार गर्नु बिडम्वना भएको गुनासो गरे ।
काठमाण्डौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र विचार, मान्यता, विधि, पद्धति बसाल्न बहस भैरहेको तर बहसलाई अस्वस्थ बनाईएको बताए ।
पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ, त्यस्तो विल्कुल होईन । पार्टीलाई कसरी अगाडी लैजाने भन्ने बहस हो, उनले भने ।
पद भन्दा राष्ट जनताको भविष्य र सेवा मुख्य कुरा भएको बताउँदै उनले आफूले पार्टी एकता गर्नुपूर्व नैपद त्याग गरेर अगाडी आएको स्मरण गराए ।
उनले पार्टी एकताको रक्षा गर्नका लागि आफुहरुले त्याग गर्दै आएको र अहिले नेताहरू बहसमा रहेको पनि बताए ।
पार्टीभित्र बहस हुनु अन्यथा लिन नहुने तर्क गर्दै अध्यक्ष प्रचण्डले यो बहसलाई पार्टी एकतालाई अझ माथिल्लो स्तरमा लगेर सुदृढ गर्ने दावी गरे । पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, इतिहासका तितामिठा अनुभवहरूबाट शिक्षा लिएर जनता, कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्ने छ । एकता अक्षुण्ण राख्ने नाममा विभिन्न मुद्दा र विचारको बहस ढाकछोप हुनुहुँदैन । तिनको फछ्र्यौट ठीक ढंगले गरिनुपर्दछ भन्नेमा हामी सचेत छौं । कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु सहभागि थिए ।