-कुसुम घिमिरे
मानिस एक सामाजिक अनि विवेकी प्राणी हो । ऊ समाजमै जन्मिन्छ समाजमै हुर्किन्छ अनि समाजमै मर्छ । समाज यहि नै उसको जिउने आधार बनिदिन्छ अनि फेरि यहि समाज उसको जिउने बाधक पनि बनिदिन्छ । हामीले गर्ने हरेक गतिविधिका पछाडि ऊ जोडिन्छ अनि मनमा अनेक बिचारहरू आउँछ । म यो काम गरौँ कि नगरौँ ? यो गर्दा के होला? उसले के सोच्ला? उसले के भन्ला ? मेरो इज्जत त जाने होइन ?
हो हामीलाई हाम्रो हरेक गतिविधिहरू पछाडि उसको डर छ । ऊ मात्र ऊ । ऊ हामीजस्तै मान्छे हो तर पनि हामीलाई उसको यति डर छ त्यति डर त शायद बाघभालु को पनि हुँदैन होला । आफूलाई मन नपराउने मानिसहरू अनि फरक मानिसहरूको फरक सोच भएर पनि निकै फरक पर्दोरहेछ। त्यही कुरा कसैलाई कति राम्रो लाग्छ अनि त्यही कुरा कसैलाई कति नराम्रो लाग्छ।
जब हामी केही कामको थालनी गर्छौँ कति कति सकारात्मक प्रतिक्रियाहरु पनि पाउँछौ अनि कति नकारात्मक प्रतिक्रियाहरु पनि पाउँछौ। तर हाम्रो स्वाभाव कयौँ सकारात्मक प्रतिक्रियाहरुबाट प्रभावित भएर उत्साह जगाउनुको साटो मात्र एक नकारात्मक प्रतिक्रिया बाट नै निराश हुन्छौँ र उक्त थालनी गरेको कामलाई पनि बन्द गर्न पछि पर्दैनौ। भन्छन् तपाईँ जति नै राम्रो काम गर्नुहोस् कसैलाई मतलब हुँदैन यो सारा दुनियाँ चुप हुन्छ तर जब मात्र एक नराम्रो काम गर्नुहोस् यो सारा संसार मच्चिन थाल्छ ।
त्यसैले होला हामी बोल्नलाई शब्द हुँदाहुँदै मौन हुन्छौँ गर्नलाई इच्छा हुँदाहुँदै स्तब्ध हुन्छौँ। अनि पुनः त्यसैको फलस्वरूप सबैको सामु बेकामेका रुपले ठहरिन्छौँ।
यो संसारमा रहनुभएका हरेक आमाबाबु प्रति मेरो प्रणाम । आमाबाबु नै एक हुनुहुन्छ जसले हामीलाई यो स्वार्थी संसारमा पनि निःस्वार्थ मायाँ दिँदै आइरहनुभएको छ। हरेक आमाबाबुले सधैं आफ्नो बच्चाले राम्रो काम गरेको हेर्न चाहनुहुन्छ। अनि आफ्नै इच्छा चाहना अनुसार हिँडाउन खोज्नुहुन्छ ताकि आफ्ना बच्चाहरू नबिग्रियोस् र कोही कसैले पनि नराम्रो भन्ने मौका नपाओस।
हो तपाईँ आफ्नो ठाउँमा सतप्रतिशत सहि हुनुहुन्छ । तपाईँ आफ्ना बच्चाहरू कै भलाईका लागि यो सब गर्दैहुनुहुन्छ तर याद राख्नुहोस् यदि तपाईँको इच्छा चाहना आफ्ना छोराछोरीको इच्छा चाहना सँग मेल खान्छ भने त केही फरक पर्दैन तर उनीहरूको इच्छा चाहना बेगर लैजान खोज्दैहुनुहुन्छ भने उनीहरूको मानसिकतामा निकै ठूलो असर पर्छ जुन दीर्घकालिन पनि बस्न सक्छ।
तपाईँले जन्माई हुर्काइ गरेर यति ठूलो बनाउनुभएको आफ्न छोराछोरी सायद नै अरू व्यक्तिसँग त्यति समय बिताएका छैनन् होला जति आफ्ना अभिभावक सँग बिताएका छन् र शायद नै अरू व्यक्तिले त्यति बुझेका छैनन् होला जति तपाईँले आफ्ना छोराछोरीहरूलाई बुझ्नुभएको छ। तपाईँ आफ्ना बच्चालाई आफैँ मूल्याङ्कन गर्नुहोस् ऊ कस्तो छ र उसले कस्तो गतिविधिहरू देखाइरहेको छ।
तर प्रायजसो तपाईँ हुर्किनुभएको परिवेश र तपाईँको बच्चा हुर्किरहेको परिवेश अनि तपाईँ र बच्चाको उमेर फरक परेका कारण पनि तपाईँलाई आफ्नो बच्चाको निर्णय गलत लाग्न गएको पाइन्छ। कुनै कुनै गल्ती यस्ता पनि हुन्छन् जुन उनीहरूले चाहँदा नचाहाँदै गर्न पुगेका हुन्छन्। जुन गल्तीमा उनीहरूको केही दोष हुँदैन ।
जस्तै उदाहरणका लागि सोह्र सत्र वर्षका बालबालिकाहरू धेरै हाँसे, धेरै रिसाए अनि धेरै घुम्न फिर्न लागे भने त्यो उनीहरूको दोष होइन दोष उनीहरूको उमेरको हो। जस्तै मेरै उदाहरण दिनुपर्दा मैले पहिले पहिले फेसबुकमा धेरै फोटो र स्टाटस राखेँ भनेर मेरो बाबा ममि निकै चिन्ता गर्नुहुन्थ्यो अनि सम्झाउनुहुन्थ्यो यस्तो नगर भनेर तर म पुनः त्यो गल्ती दोहोर्याउँथे र म अहिले आफैँ सोच्छु त्यो मेरो दोष थिएन ।
दोष त मेरो उमेरको थियो। अहिले त्यसरी फोटो र स्टाटस राख भनेर कसैले भने पनि म किन राख्थेँ। त्यसैले हरेक आमाबाबुलाई बालविकास सम्बन्धि शिक्षा अनिवार्य गराउनु नितान्त आवश्यक देखिन्छ। ताकि आफ्ना हरेक उमेर समूहका बच्चाहरूको उमेर अनुसार उनीहरूले देखाउने ब्यबहारको बारेमा जानकारी होस्। जसले गर्दा प्रत्येक दिन उनीहरूकै ब्यबहारका कारण समस्या उत्पन्न नहोस्।
आफ्नो बच्चाको हरेक क्रियाकलापहरु नियाल्नुहोस् अनि आफैँ चिन्तन मनन गर्नुहोस् उसको उमेर कति छ र त्यस अनुसारको व्यावहार उसले देखाइरहेको छ या छैन? यदि कुनै बच्चाले केही व्यावहारहरू उमेर अनुसार देखाइरहेको छैन भने केही समस्या छ या छैन बुझ्ने प्रयास गर्नुहोस् यदि केही समस्या भेट्नुभएन भने बुझ्नुहोस् उसको स्वाभाव नै यस्तै छ।
यदि उस्ले साँच्चै नै धेरै गलत निर्णय लिन लागेको छ भने त उसलाई नियन्त्रणमा लिनुपर्छ सम्झाई बुझाई गर्नुपर्छ नत्र भने मेरो अनुरोध सम्पूर्ण अभिभावक ज्यू हरूलाई के छ भने आफ्ना बच्चाहरूलाई आफ्नो नियन्त्रणमा केही हद सम्म स्वतन्त्र नै छोडिदिनहोस्। ताकि जे गर्दा पनि ला ला भन्ने डर मनमा नहोस्। उनीहरूले चाहेको कुरा स्वतन्त्रता पूर्वक गर्न दिनुहोस्।
गल्ती सबैबाट हुन्छ अनि गल्ती गरेर नै केही कुरा सिकिन्छ। म त भन्छु गल्ती एक सिकाई अनेक। यदि उसले गल्ती गर्छ भने सबैको तिरस्कार र नराम्रो प्रतिक्रियाले उस्मा हीनताबोध हुन्छ त्यसैले केही सिक्छ र राम्रो कार्य को लागि अगाडि बढ्छ। त्यसैले सानोतिनो गल्ती गर्न दिनुहोस् ।
लेखेर राख्नुहोस् जति बढी स्वतन्त्रता त्यति कम गल्ती जति बढी बन्धन त्यति बढी गल्ती । किनभने बच्चाले जति बढी स्वतन्त्रता पाउँछ त्यति नै उसले अफ्ना रहरका काम खुशी साथ गर्न पाउँछ त्यसैले गल्ती पनि कम गर्छ तर जब जति बढी बन्धन हुन्छ त्यति नै उसले हरेक कुरा लुकाउन थाल्छ र फलस्वरुप गल्तीहरू पनि दिनानुदिन बढ्दै जान्छन् ।
यो संसारमा गल्ती नगर्ने र स्वतन्त्रता नचाहाने मानिस् को नै होला र ? त्यसैले तपाईँ पनि आफैँ कताकति गल्ती गर्दै आइरहनुभएको छ र तपाईँ पनि स्वतन्त्रता को अनुभूति गर्नुहुन्छ भने आफ्नो बच्चालाई पनि आफ्नो निगरानीमा केही हद सम्म स्वतन्त्र नै छोडिदिनुहोस्। तपाईँलाई केही कुरा मन पर्छ भने त्यही कुरा उसले पनि मन पराउनुपर्छ भन्ने केही छैन।
हरेकका आ-आफ्नै इच्छा चाहना हुन्छन् भन्ने कुरालाई पनि ख्याल गर्नुहोस् । आफ्नो बच्चालाई कँहिकतै गल्ती गर्न दिनुहोस् र उसको गल्तीमा रिसाउने हैन कि हाँस्दै उसको गल्ती बारेमा सल्लाह सुझाव दिनुहोस् ताकि उस्लाई आफ्नो गल्तीको महसुस होस् र पुनः गल्ती गर्ने मनसाय नहोस। अनि अर्को कुरा कस्ले के भन्ला भन्ने सोचाइ आजै मनबाट हटाइदिनुहोस् र आफ्नो बच्चाले चाहिँ के भन्न खोजिरहेको छ त्यसलाई बुझ्न प्रयत्न गर्नुहोस् ।
कुनै पनि विषयको पछाडि केही न केही कारण लुकेको हुन्छ त्यस्तै आफ्नो बच्चाको गल्ती पछाडि पनि केही न केही कारण लुकेको हुनसक्छ। त्यसैले उस्को मनलाई बुझ्नुहोस्, मनलाई बुझ्नुहोस् अनि फेरि मनलाई बुझ्नुहोस् । आफ्नो बच्चालाई अरूसँग दाँजेर नानाथरी भन्ने दुस् प्रयास कदापि नगर्नुहोस्। बाँचुन्जेल पागल भनिएका लक्ष्मीप्रसाद देवकोटा पनि पछि महाकवि बन्न पुगे त्यसैले आफ्नो बच्चालाई अरूजस्तो बनाउने हैन अरुभन्दा फरक बनाउने कोशिस् गर्नुहोस्।
अन्त्यमा यसरी नै मेरो मनलाई बुझेर मेरो हरेक गल्तीलाई माफी दिँदै मेरो इच्छा आकाङ्क्षा अनुरूप नै चल्दै आउनुभएका आमाबाबु प्रति आभार प्रकट गर्नु चाहन्छु। सफलताको एक सूत्र : स्वतन्त्रता + गल्ती + अनुभव + सिकाई = सफल मान्छे ।