काठमाडौँ — पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिना नेकपाको बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो ।
बैठकल लगातार स्थायी कमिटीको बैठक स्थगित गर्नु उचित नभएको निष्कर्ष निकालेको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले नेकपा स्थायी समिति बैठक बसेको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरु भने उपस्थित भएनन् । यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले भने बैठक स्थगित भएको जनाएका थिए ।
नेताहरुका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका छन् । बैठकमा प्रधानमन्त्री ओलीको बचाउमा लागेका भनिएका सचिवालय सदस्य रामबहादुर थापा तथा नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागि छन् ।
प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले भने पार्टी बैठक बिहानै स्थगित भएकाले नेताहरुको छलफल हुनसक्ने प्रतिक्रिया दिएका छन् ।