काठमाडौं - चितवन स्थित चेपाङ बस्तीमा भएको घट्नाको बिषयलाई लिएर नेपाल आदिवासी जनजाति महासंघले बिरोधका कार्यक्रम सुरु गरेको छ । चेपाङ युवाको हत्या, आगजनीको निष्पक्ष छानविन र दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले आईतवार राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
घट्नाबारे ध्यानाकर्षण गराउन महासंघका अध्यक्ष जगतबहादुर बराम नेतृत्वको टोली आयोग पुगेको थियो । टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै घट्नाको निष्पक्ष छानविन र दाषीमाथि काराबाहीको दायरामा ल्याउने वातावरण बनाउन आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्र बुझाउँदै महासंघ अध्यक्ष बरामले चेपाङ भएकै आधारमा राज्यबाट बर्बर ढंगले हत्या र आगजनीको घट्ना भएको भन्दै राज्यलाई दवाव सिर्जना गर्न आयोगले ठोस कदम चाल्नुपर्ने बताए ।
चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिको कुसुमखोला स्थित चेपाङ बस्तीमा आगजनी गरेको थियो भने राप्ती नगरपालिकामा सेनाको कुटपिटबाट राजकुमार चेपाङको मृत्यु भएको थियो ।
ध्यानाकर्षणपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले चेपाङ बस्तीमा भएको घट्ना मानवअधिकारको गम्भीर उल्लंघन भएको बताए । उक्त घट्नाको आयोगले छानविन गरिहेको जानकारी पनि उनले दिए । उनका अनुसार घट्नाको सत्यतथ्य छानविनका लागि चाँडै टोली घटनास्थल पठाइनेछ ।