काठमाडौँ — बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारले २ लाख रुपैयाँ राहत पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई २ लाख राहात उपलव्ध गराउने निर्णय गरेको हो ।
सरकारले राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा परिमार्जन गर्दै प्रति मृतकका परिवारलाई १ लाखबाट बढाएर २ लाख पुर्याएको छ । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई २ लाख र त्यसपछिलाई प्रति मृतक १ लाख रुपैयाँ मात्रै दिइने एक मन्त्रीले जानकारी दिए ।
यसैगरी घरबारविहीनका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न १ लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न ५ जनाको परिवार भए १५ हजार र त्यसभन्दामाथि भए २० हजार रुपैया राहत उपलव्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बाढीरपहिरो, डुबान र कटानबाट घरबार गुमाएकालाई भूकम्पपीडित सरह अनुदान दिइने पनि निर्णय भएको छ । गृह मन्त्रालयको गरेको मापदण्ड संशोधन सम्बन्धि प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो ।