हेटौंडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरो पीडितका घर प्रदेश सरकारले बनाईदिने आशवासन दिएका छन् । प्रदेशसभामा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडलले यस्तो घोषणा गरेका हुन् । उनले प्रदेशरभर बाढीपहिरोका कारण घरबारविहीन भएकाहरुलाई घर बनाइदिन सरकार तयार रहेको बताए ।
उनका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषबाट स्थानीय तहको सिफारिसमा तोकिएको स्थानमा घर बनाइनेछ । बाढीपहिरोका कारण मृत्यु भएका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने र घाइतेको उपचार व्यवस्था प्रदेशले गर्ने जानकारी पनि मुख्यमन्त्री पौडेलले दिए ।
कतिपय स्थानीय तहलाई राहत वितरणका लागि प्रदेशले आवश्यक बजेट उपलब्ध गराइसकेको छ, घरबारविहीनहरुको तथ्यांक स्थानीय तहले संकलन गरिरहेको छ ‘बिरामीको उपचार, राहत वितरण तथा घर निर्माणका लागि स्थानीय तहसँगको समन्वयमा गरिनेछ, उनले भने ।
तोकिएको दरबन्दी अनुसार कर्मचारी संघीय सरकारबाट उपलब्ध नहुँदा काम गर्न समस्या भइरहेको कुरा मुख्यमन्त्री पौडेलले सुनाए । कर्मचारी अभावका कारण प्रदेश सरकारले निर्माण गरेको नीति तथा कार्यक्रम तत्काल लागू गर्न नसकिएको उनको भनाई छ ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम र योजनाहरु निर्माण गर्न जिल्ला तहमा समन्वय कार्यालयहरु सञ्चालनको आन्तरिक गृहकार्य भइरहेको जानकारी पनि दिए ।