Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विपद व्यवस्थापनका लागि दोलखाका ७४ वडामा हेलिप्याड

चरिकोट — विपत उद्धार तथा राहत व्यवस्थापनका लागि दोलखाका स्थानीय तहका सबै वडाहरुमा हेलिप्याड निर्माण गरिने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले दुई नगरपालिका र ७ गाउँपालिकाका ७४ वटै वडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको हो ।

विपद उद्धार तथा राहात व्यवस्थापन र जटिल अवस्थाका सुत्केरीहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउन यो निर्णय गरिएको समितिले जनाएको छ । त्यसका लागि उपयुक्त स्थानको खोजी सम्बन्धित स्थानीय तहले गर्नेछन् । हेलिप्याड निर्माणका लागि प्राविधिक सहयोगको व्यवस्थापन गर्ने जिम्मा तारादल गणलाई दिईएको छ ।

यस्तै जिल्लामा मौज्दात तारजालीहरु तत्कालका लागि प्रत्येक स्थानीय तहलाई ३०/३० थान र त्रिपाल तथा टेन्टहरु ५० थानका दरले बितरण गरी बिस्थापित भएकाहरुलाई अस्थायी बसोवासका लागि उपलब्ध गराउने निर्णय भएको छ ।

अबिरल वर्षातका कारण विगु, कालिञ्चोक, गौरीशंकर लगायतका पालिकाहरुमा पहिरो जान थालेकाले रोकथामका लागि तटबन्ध निर्माण गर्न माथिल्लो निकायमा बजेटका लागि अनुरोध गर्ने निर्णय पनि भएको छ । वर्षातका कारण जोखिममा रहेका घर, सडक र संरचनाहरुको बिवरण संकलन गरी जिल्ला विपद व्यवस्थापन समितिमा पठाउन सबै स्थानीय तहलाई निर्देशन दिईएको छ ।

जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र (डिईओसी) लाई चौविसै घण्टा सक्रिय बनाई राहत उद्धार कार्यलाई तिब्रता दिने, प्रभावित क्षेत्रका घरपरिवारलाई सुरक्षित रहन आग्रह गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update