काठमाडौँ — यातायाता व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सरकारसँग बिभिन्न माग राख्दै व्यवसायीहरुले यातायात संचालन गरेका थिएनन् ।
यातायात व्यवस्था विभागमा आईतवार भएको छलफलपछि व्यवसायीहरु यातायात संचालन गर्न तयार भएका हुन् । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुबीच भएको छलफलपछि व्यवसायी हर सोमवारबाट यातायात संचालन गर्न सहमत भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
सरकारले कोभिड–१९ संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अबलम्वन गरेर सवारी साधन चलाउन आग्रह गरेको छ । व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय गरिएको यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले बताए ।
एक जिल्लाबाट अर्को जिल्ला जान नपाउनेगरी जिल्लाभित्र यातायात संचालन गर्ने निर्णय सरकारले गरिसकेको छ । काठमाडौं उपत्यकामा यो नियम लागु हुनेछैन ।