Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कृषि उत्पादन बढी गर्ने कृषकलाई पुरस्कार र अनुदान

चरिकोट — दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले बढी कृषि उत्पादन गर्ने व्यवसायिक कृषकलाई पुरस्कार दिने घोषणा गरेको छ । कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता हटाउन र व्यवसायिक कृषि उत्पादनलाई बढवा दिन भन्दै गाउँपालिकाले खाद्यन्न तथा फलफुल र तरकारी बढी उत्पादन गर्ने कृषकका लागि यस्तो कार्यक्रम ल्याएको हो ।

वर्षभरी तुलनात्मक रुपमा धेरै कृषि उपज उत्पादन गर्ने व्यवसायिक कृषकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेटमा उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था गरिएको छ । ‘कृषकहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकलाई उचित पुरस्कारको व्यवस्था गरिने छ, नीति कार्यक्रममा भनिएको छ ।

गाउँपालिकाले व्यवसायिक कृषि उत्पादनमा कृषकलाई आकर्षित गर्न हरेक वर्ष मेलुङ उत्कृष्ट कृषक घोषणा गर्ने योजना समेत ल्याएको छ । अध्यक्ष श्रेष्ठका अनुसार उत्कृष्ट घोषित कृषकलाई प्रोत्साहन स्वरुप थप अनुदान दिने व्यवस्था मिलाईनेछ । त्यसका लागि गाउँपालिका भित्र सबैभन्दा बढी कृषि उत्पादन गर्ने कृषक प्रतिस्पर्धाका आधारमा छनौट गर्ने नीति गाउँपालिकाले लिएको छ ।

मेलुङ गाउँपालिकाको बजेट ५२ करोड ११ लाख : पूर्वाधार र कृषिमा जोड (पूर्णपाठ)

अन्नवाली, आलु, सुन्तला लगायतका फलफुल र तरकारीको बढी उत्पादनलाई मुल्यांकनको आधार बनाईनेछ । वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हिरा थोकरले कृषिको व्यवसायिकरण र आत्मानिर्भर बनाउन, युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार बनाउन र बाँजो जग्गाजमिन समेत प्रयोगमा ल्याई कृषि क्षेत्रलाई उकास्न गाउँपालिकाले ठोस कार्यक्रम ल्याएको बताए ।

‘अब विदेशमा पनि रोजगारीको अबसर कम हुनसक्छ, त्यसैले अब युवाहरुलाई गाउँमै व्यवसायिक बनाउन जरुरी छ, उनने भने, ‘कृषकहरुबीच प्रतिस्पर्धा गराउँदा कृषि पेशा झन मर्यादित र व्यवसायिक हुनसक्छ ।’ अध्यक्ष थोकरका अनुसार उत्कृष्ट कृषकहरुलाई कृषि उत्पादन ढुवानीमा समेत अनुदान दिईनेछ । 

मेलुङ गाउँपालिकाले कृषि क्षेत्रलाई जोड दिँदै नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठ जैविक पालिकाको रुपमा विकास गर्न, खाद्यन्न तथा तरकारीमा आत्मानिर्भर बनाउन यो कदम चालिएको बताउँछन् ।

‘कृषिको व्यवसायिकरणलाई अभियानकै रुपमा अघि बढाउने गाउँपालिकाको लक्ष्य छ, हामी कृषि क्षेत्रलाई समृद्धिको आधार र सूचकका रुपमा स्थापित गर्न चाहान्छौं अध्यक्ष श्रेष्ठले भने

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update