चरिकोट - कोरोना महामारीसँगै सुरु भएको लकडाउनका कारण बन्द गरिएको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शनार्थीहरुका लागि शनिवारदेखि खुल्ला भएको छ । भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अनुसार क्षमापूजा गरिएपछि दर्शनार्थीहरुका लागि मन्दिरको मुलगेट खोलिएको हो ।
दर्शनार्थी तथा भक्तजनहरुले तत्काल मन्दिरभित्रै प्रवेश गरेर मुख्य शिलाको दर्शन गर्न नपाएपनि परिसर घुमेर दर्शन गर्न पाउनेछन् । मन्दिर १ सय १६ दिनपछि खुलाईएको हो । लकडाउनसँगै २०७६ चैत ११ गतेदेखि मन्दिर बन्द गरिएको थियो । मन्दिरको मुलगेट खोलिएपछि शनिवार बिहान भीमेश्वरका गुठियार, पुजा व्यवस्थापन समिति स्थानीय सहित उपस्थित भक्तजनहरुले दर्शन गरेका थिए ।
भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका वडा नम्बर २ ले सामाजिक दुरी कायम राखेर मन्दिर परिसरबाट दर्शन गर्नदिने निर्णय गरेको हो । सोही अनुसार शनिबारबाट खुला गरिने निर्णय गरिएको वडा अध्यक्ष बिराज श्रेष्ठले बताए ।
उनका अनुसार दर्शनअघि साबुन पानीले हात धुने, स्यानीटाइजर लगाउने र सामाजिक दुरी कायम गर्ने जस्ता सुरक्षा उपाय अबलम्वन गरिनेछ । दैनिक झण्डै ५ हजार दर्शनार्थी तथा भक्तजनहरुले भीमेश्वरको दर्शन गर्ने गरेका छन् ।
साउन महिना र धमाधम सुरु हुने चाडपर्वहरुलाई मध्येनजर गर्दै मन्दिर खोल्ने निर्णयमा पुगेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।