हेटौंडा — वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा झण्डै ८५ प्रतिशत प्रगति हाँसिल गर्न सफल भएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ६६.६३ प्रतिशत वित्तीय प्रगति र ८५ प्रतिशत भौतिक प्रगति हाँसिल गर्न सफल भएको हो ।
कोरोना भाईरस (कोभिड १९) को महामारीकाबीच पनि मन्त्रालयले योजना, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गरेको हो । सबैभन्दा बढि बजेट तेस्रो चौमासिकमा कार्यान्वयन हुने गर्दछ । यही समयमा कोरोना महामारीले धेरै विकासे योजनाहरु प्रभावित भएपनि वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको हो ।
मन्त्री युवराज दुलालले महामारीको असरका बावजुत पनि योजना, कार्यक्रम र बजेट कार्यान्वयन गर्न सकेकोमा खुसि व्यक्त गर्दै सहयोग गर्ने कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
यसैबीच मन्त्री दुलालले नयाँ आर्थिक वर्षका लागि बिहिवार मुख्यमन्त्री डोरमणी पौडेलसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । नयाँ आर्थिक वर्षमा ९० प्रतिशत भन्दा माथि प्रगति हाँसिल गर्ने लक्ष्यका साथ करार सम्झौता गरिएको मन्त्री दुलाले बताए ।
यस्तै मन्त्रालयका सचिवले मन्त्रीसँग र महाशाखा प्रमुखहरुले सचिवसँग कार्यसम्पादन सम्झौता पनि बिहिवारनै सम्पन्न भएको छ ।