Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको हलेश्वर र दुर्गा मावि नमुना विद्यालयका लागि छनौट

चरिकोट - दोलखाका दुई मावि नमुना विद्यालयका लागि छनौटमा परेका छन् । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले दोलखाको दुई विद्यालयलाई पनि नमुना विद्यालयको रुपमा स्तरोन्नती गर्न छनौट गरेको हो ।

छनौट हुनेमा गौरीशंकर गाउँपालिका स्थित हलेश्वर मावि र शैलुंग गाउँपालिकाको दुर्गा मावि रहेका छन् । यो वर्ष देशभरका १ सय विद्यालयलाई नमुना विकासका लागि छनोट गरिएकोमा उक्त सूचीमा दोलखाका दुई विद्यालय परेका हुन् । यसअघि जिल्लाको कालिञ्चोक गाउँपालिका स्थित कालिनाग मावि र काब्रे स्थित हनुमन्तेश्वर मावि नमुना विद्यालयका लागि छनौटमा परिसकेका छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार विगतमा नमुना विकासका लागि छनोटमा नपरेका स्थानीय तहका विद्यालयहरुलाई यो वर्ष छनोट गरिएको हो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य राखेको छ ।

देशभरबाट १ हजार विद्यालयहरुलाई नमुना बनाउने मन्त्रालयको लक्ष्य छ । सरकारले विद्यार्थीहरुको सिकाई उपलब्धि उच्च बनाउन, विद्यालयको भौतिक तथा शैक्षिक पक्षको विकास गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्नसक्ने विद्यालयको रुपमा विकास गर्न नमुना विद्यालयको अवधारणा अघि सारेको हो ।

नमुना विद्यालयमा भौतिक पुर्वाधारदेखि पठनपाठनको व्यवस्थापन समेत फरक ढंगले गरिनेछ । शिक्षण भवन तथा कक्षाकोठा, प्रशासनिक भवन, आवासीय सुविधा, पुस्तकालय, प्रयोगशाला, विद्यालय संग्रहालय, प्राथमिक उपचार तथा परामर्श कक्ष, व्यवसायिक कार्यशाला कक्ष, खानेपानी सरसफाई तथा स्वच्छता सुविधा, चमेना गृह, अडिटोरियम हल, घेरावार तथा बगैचा, खेलमैदान, बैकल्पिक विद्युतीय व्यवस्था नमुना विद्यालयमा गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update