काठमाडौँ — निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेका हुन् ।
व्याब्सन, एनप्याब्सनले आज संयुक्त विज्ञप्ती जारी गर्दै विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गरिएको जनाएका छन् । निजि विद्यालय संचालकहरुले शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय गरेका छन् । सरकारले घोषणा गरेसँगै निजी विद्यालयहरुले पनि अनलाइन, रेडियो र टेलिभिजनका माध्यमबाट असार १ गतेदेखि वैकिल्पक कक्षा सञ्चालन गर्दै आएका थिए ।
निजी विद्यालय संचालकहरु सरकारसँग असन्तुष्ट छ । विद्यार्थी भर्ना गरेर वैकल्पिक कक्षाको न्युनतम शुल्क लिनु पाउनुपर्ने उनीहरुको माग छ । शिक्षा मन्त्रालयले आफ्ना मागहरुलाई बेवास्ता गरेका कारण विद्यालय बन्द गर्ने निर्णय लिनुपरेको संचालकहरुको दावी छ । उनीहरुका अनुसार सरकारले भौतिक उपस्थितिमा नै विद्यालय र पठनपाठन सुचारु गर्ने निर्णय गरेपछि मात्रै कक्षा सञ्चालन गरिनेछ ।
साउन १ गतेदेखि निजी विद्यालयले कक्षा बन्द गरे पनि शिक्षा मन्त्रालयले सञ्चालन गरेको रेडियो, टेलिभिजन कक्षा भने सुचारु रहने जनाईएको छ ।